काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न माग गरेको छ । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले यो माग ठाडै अस्वीकार गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने बताए । आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजपाका नेताहरुले राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका छन् ।


ADVERTISEMENT

# # #


तर, सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुले चुनाव सार्ने प्रस्ताव अस्वीकार गरेका छन् । ‘केही प्राविधिक विषय छ भने हामी सम्बोधन गर्छौं । तर, चुनाव सार्न सकिन्न भनेका छौं’ माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने ।

राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीेले भने प्रतिवद्धताले मात्रै नहुने भन्दै संविधान संसोधन लगायत राजनीतिक सवालको सम्बोधन नभई चुनावमा सहभागी हुन नसकिने बताए ।

राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । जसअनुसार ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ मा पहिलो चरणको चुनाव सम्पन्न भयो तर, राजपा सहभागी भएन ।

राष्ट्रिय जनता पार्टीको सहभागिताका लागि भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव पनि असार ९ हुँदै १४ का लागि सारेको छ ।

तर, संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतको माग राख्दै राजपाले चुनावमा सहभागी हुन आनाकानी गरिरहेको छ ।