काठमाडौँ– नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ ।


ADVERTISEMENT


कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको प्रवक्ता प्रतिभा वैद्यले बताइन् । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ ।


ADVERTISEMENT

# # #


हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि स्वचालित रूपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुनेछ । यही अनुसार ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना रु एक हजार ६०० कायम गरिएको छ । त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको रु दुई हजार ७००, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस रु दुई हजार ४०० र १०० एमबीपीएसभन्दा माथिको महसुल दर प्रतिएमबीपीएस रु दुई हजार १०० तोकिएको छ । उल्लेखित दरमा थप कर लाग्ने छ ।

आगामी असोज १ देखि मङ्सिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत असीमित डाटा प्याकेजलगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यसअन्तर्गत असीमित डाटामा थप कर लाग्ने छैन । ‘भोल्युम वेस्ड प्याकेज’मा थप कर लाग्ने छ । व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस क्षमताको असीमित डाटा भोल्युम रु एक हजार ५०० मा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने अवधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज रु एक हजारमा उपलब्ध गराइने प्रवक्ता वैद्यले बताइन् ।

त्यसैगरी दुई एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यसअनुसार १५ दिनका लागि रु ५०० मा १० जीबी, एक महिनाका लागि रु एक हजारमा २० जीबी, तीन महिनाका लागि रु तीन हजारमा ७० जीबी र छ महिनाका लागि रु छ हजारमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ । एक वर्षका लागि रु १२ हजारमा ५०० जीबी र रु २० हजारमा एक हजार जीबी प्याकेज तथा एक वर्षे कर्पोरेट प्याकको रुपमा रु ३५ हजारमा दुई हजार ३०० जीबी प्याकेज उपलब्ध गराइनेछ ।

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोङ्गलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । एक वर्षका लागि रु छ हजारमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यूएसबी डोङ्गल निःशुल्क उपलब्ध गराइने छ । संविधान दिवस २०७५ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ सहुलियत योजना ल्याएको छ । असोज १ देखि १५ गतेसम्म करसहित रु १८ मा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरेपश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्कभित्र जति पनि असीमित कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।