काठमाडौँ– विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।


ADVERTISEMENT


स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा रहेको बताएका छन् । “स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने ।


ADVERTISEMENT

# # #


नेता सिंहले मुलुकमा अलग अलग धारमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिवेला स्व सिंहको महत्वपूर्ण योगदान छ,” उनले भने । काङ्ग्रेस स्व सिंहको विचारलाई अनुशरण गरेर अगाडि बढिरहेको उनको भनाइ रहेको थियो ।

सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाएका छन् । “सरकारले राखेको लक्ष्य सुशासन र समृद्धिको नारालाई पूरा गर्न सकेको छैन”, उनले भने । उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन् ।

वर्तमान दुई तिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्नै नजानेको दाबी गर्दै उनले भने, ‘यो सरकारले राम्रो काम गरोस् भनेर हामीले शुभकामना प्रकट गरेका थियौँ तर तर के गर्ने सरकारको चाल फिस्टे चराको जस्तो भयो । फिस्टेको खुट्टा हेरेरै चाल पाइन्छ भनेजस्तै सरकारमा सामेल उहाँहरुलाई म्यानेजै गर्न आउँदैन कुरा मात्र ठुलठुला गर्नुहुन्छ ।’

सरकारले जनतालाई राहतको सट्टा आहत दिने गरेको आरोप लगाउँदै नेता सिंहले भने, ‘लोकतान्त्रिक मूल्य मान्यतालाई पन्छाएर केन्द्रियता लाद्ने प्रयास भइरहेको छ । हामीले त बोल्ने अवस्थासम्म रहेन, बोलेकै भरमा पत्रकारलार्इ जेल हालेको छ ।’ सरकार आफ्नै गिरोहभित्रका केही सीमित व्यक्तिहरुको स्वार्थमा चलिरहेको उनको आरोप थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।