काठमाडौं – चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ ।


ADVERTISEMENT


अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात साउन १ देखि भदौ मशान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


अघिल्लो वर्षको तुलनामा यसवर्ष ३७ प्रतिशतले बढी राजश्व संकलन भएको थियो । भदौ मशान्तसम्मको अवधिमा १ खर्ब ३ अर्ब बजेट खर्च भएको छ । अर्थमन्त्री खतिवडाका अनुसार चालु आर्थिक वर्षको २ महिनामा चालुतर्फ ९६ अर्ब रुपैयाँ बजेट खर्च भएको छ भने पूँजीगततर्फ भने ६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

अघिल्लो वर्ष चालु भन्दा पूँजीगत खर्च धेरै भएको उनले बताए । तर, अघिल्लो वर्षसँग यसवर्ष तुलना भने गर्न नहुने उनको तर्क छ । ‘अघिल्लो वर्ष प्रदेशमा भएको खर्चको तथ्यांक पनि केन्द्रमा नै थियो, यस वर्ष छैन’ उनले भने, ‘उताबाट तथ्यांक नआएसम्म भन्न सकिँदैन र तुलना गर्न पनि नमिल्ला ।’

कार्यक्रममा बोल्दै उनले सरकारले करछुटको व्यवस्थालाई निरुत्साहित गरिएको समेत प्रष्ट पारे । कर छुटलाई निरुत्साहित गर्ने योजना बजेटमा नै समावेश गरिएको भन्दै अर्थमन्त्री खतिवडाले सोही प्रभावकारी ढंगले कर संकलन गर्नका लागि ६ वटा आन्तरिक राजश्व कार्यालय र ११ वटा करदाता सेवा कार्यालय थप गर्न लागिएको समेत बताए । केही भन्सार कार्यालयहरुको अपग्रेडसमेत गरिने उनले बताए ।