काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् ।


ADVERTISEMENT


१३ दिनसम्म चल्ने उहाँको विदेश यात्राका क्रममा केही उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुनेछ । सो क्रममा प्रम ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत संक्षिप्त कुराकानी हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


मंगलबारबाट सुरु हुने महासभाको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ विषयक उक्त महासभामा प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रकाश पार्नेछन् ।

प्रम ओलीले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । महान् अफ्रिकी नेता मण्डेलाको सम्मानमा उनको जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । सोही दिन अमेरिकी राष्ट्रपति ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली समेत सहभागी हुने बताइएको छ । सो क्रममा ओलीले ट्रम्पसँग २ मिनेटको संक्षिप्त कुराकानी गर्न पाउनेछन् ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओलीको आजबाट हुने अमेरिका भ्रमणका बारेमा समेत छलफल भएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम यसअघि नै स्वीकृत भएको थियो । संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएपछि उनी त्यहीबाट मध्य अमेरिकी मुलुक कोष्टारिका जाने छन् ।

सो भ्रमणकै सिलसिलामा प्रधानमन्त्री ओलीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।