भादगाउँ– धार्मिक तीर्थस्थलको रूपमा रहेको भक्तपुरको प्रसिद्ध प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखि मेला लागेको छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहाँ मेला लाग्छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको हो ।


ADVERTISEMENT


देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुख, समृद्धि मिल्ने जनविश्वास छ ।


ADVERTISEMENT

# # #


इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर सिद्धपोखरीमा ल्याई बिराजमान गराई तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउने परम्परा छ । त्यसबेला परम्परागत बाजागाजाका साथ दाफा, भजन गाउने प्रचलन छ ।

सिद्धपोखरीमा लिच्छवीकालीन देखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरू छन् । अनावृष्टि हु“दा सिद्धपोखरीमा आई वासुकी नागलाई पूजा गर्ने र जलवृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन छ ।

पोखरीमा रहेको शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको निको हुने भन्ने जनविश्वास छ । रासस