काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस सङ्गठनको सदस्य बनेको हो ।


ADVERTISEMENT

# # #


श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले असार १ गते राष्ट्रपति भण्डारीसँग भेट्नाका साथै भण्डारीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । राष्ट्रपति भण्डारीका सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत कार्यक्रम आयोजना गर्नेछन् ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने मन्त्रालयको विज्ञप्तिमा उल्लिखित छ । राष्ट्रपति भण्डारी असार ४ गते काठमाडौँ फर्किने छिन् ।