काठमाडौं– पप्पु कन्स्ट्रक्सन बदनाम छ । देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ । काम भने धेरैतिर अलपत्र पारेको छ । अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ ।


ADVERTISEMENT


सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो । सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ ।


ADVERTISEMENT

# # #


हात परेका अधिकांश आयोजना वर्षौदेखि अलपत्र छन् । एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ । पहिलो पटक पप्पुले भवन निर्माणमा हात हालेको हो ।

खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ ।

यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन् । पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन् । पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ । यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन । अन्य दुईको पनि निर्माणकै चरणमा छ ।

स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ । यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ । तर निर्माण कार्य सम्पन्न भएको छैन । अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन । – आजको अन्नपुर्ण पोष्टबाट