काठमाडौं– संयुक्त राष्ट्रको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सुनेर सभा हलमा हाँसो मच्चिएको छ । उनको भाषण सुनेर संयुक्त राष्ट्रको महासभामा भाग लिन गएको विश्वका तेनाहरु ट्रम्पको भाषण सुनेर हाँसेका हुन् ।


ADVERTISEMENT


न्युयोर्कमा भएको संयुक्त राष्ट्रको महासभाको ७३ औँ अधिवेशनमा ट्रम्पले इरानसँग परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गर्दै भने, ‘इरानले छिमेकी देश, सीमा र सम्प्रभुताको सम्मान गर्दैन । इरानका नेताले देशको स्रोत साधनको प्रयोग आफूलाई धनी बनाउन र मध्य पूर्वमा हलचल मच्चाउनका लागि गरिरहेको छ ।’


ADVERTISEMENT

# # #


आफ्नो प्रशासनले अमेरिकाको इतिहासमा धेरै काम गरेको पनि ट्रम्पले बताएका थिए । उनको यो कुरा सुनेर दर्शकहरू हाँस्न थाले । सबैको हाँसोपछि ट्रम्प पनि हाँसे । उनले भने, ‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ ।’

राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउने गरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो औंल्याएक थिए । उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको बताए ।

उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरु अघि बढेको र चाँडै अर्को शिखर बैठकको आयोजना हुने जानकारी दिँदै राष्ट्रपति ट्रम्पले निःशस्त्रीकरणका कार्यहरु पूरा भएपछि आर्थिक प्रतिबन्धहरु फुकुवा हुने स्पष्ट परे । उनले उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्न दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र जापानका प्रधानमन्त्री सिन्जो आबेले गर्नुभएको मध्यस्थताका लागि धन्यवाद समेत दिए ।

राष्ट्रपति ट्रम्पले कुनै समय दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुएलाको अव्यवस्था र गलत राजनीतिक प्रणालीका कारण मुलुक लगभग टाट पल्टिएको चर्चा गर्दै अहिले त्यहाँबाट २० लाखभन्दा बढी मानिस अन्य देशमा पलायन हुन बाध्य भएको बताए । उनले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारमाथि थप प्रतिबन्ध लगाउने जानकारी दिए ।

संयुक्तराज्य अमेरिकाले प्रत्येक वर्ष विभिन्न मुलुकका लागि उपलब्ध गराइआएको आर्थिक सहायताको समीक्षा गर्नुपर्ने समय आएको चर्चा गर्दै अमेरिकी सहयोग अमेरिकाकै हितमा समेत नभएकामा दुःख व्यक्त गरे ।

पछिल्लो व्यापारिक तनावका बारेमा समेत चर्चा गरेका राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा पछिल्लो वर्षसम्म करिब आठसय अर्ब डलर पुगेको बताए । यो परिस्थिति उत्पन्न हुनुमा विगतका अमेरिकी नीति मुख्य रुपमा जिम्मेवार रहेको बताउँदै उनले यही खुकुला नीतिका कारण चीनले फाइदा लिएको दाबी गरे । राष्ट्रपति ट्रम्पले भने, ‘विगतका असमान व्यापार सम्झौताहरु हामीलाई स्वीकार्य छैन । अमेरिकामा सामान थुपार्ने, आफ्ना सामानमा अनुदान दिने, अमेरिकी उद्योगमाथि लक्षित गर्ने तथा आफ्नो देशको मुद्रालाई तोडमोड गर्ने कार्य अब सह्य हुँदैन ।’

हेर्नुहोस भिडियोः