काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तकाण्डबारे छानविन गर्न गठन गरिएको उच्च स्तरीय छानविन समितिले मंगलबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । तर, प्रतिवेदनमा के के कुरा उल्लेख गरिएको छ भनेर अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।


ADVERTISEMENT


प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्नेबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यतिवेला आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा छन् । प्रधानमन्त्रीसँग सल्लाह गरेर प्रतिवेदन सार्वजनिक गर्नपनि सक्ने बुझिएको छ ।


ADVERTISEMENT

# # #


गृहमन्त्री थापाले आजमात्रै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँगपनि सल्लाह गरेका छन् । कारागार व्यवस्थापन विभागका सहसचिब हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले प्रतिवेदन गृहमन्त्री थापालाई बुझाएपछि उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न अधिकारकर्मीहरुले दबाब दिईरहेका छन् ।

निर्मलाको हत्याकाण्डमा प्रहरी अनुसन्धानमै गडबडी भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । सो समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा गृहले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, दुई जना डिएसपी र एक इनिस्पेक्टरलाई निलम्बन गरिसकेको छ ।

गृह मन्त्रालयको उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली स्वदेश फर्किएपछिमात्रै उक्त प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा गृहमन्त्री छन्। तर, यो बीचमा दबाब आयो भने प्रधानमन्त्रीलाई सोधेर प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्नेबारे गृहमन्त्री थापाले निर्णय गर्ने पनि बुझिएको छ ।