काठमाडौं–युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ ।
कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको समिट सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म पटायास्थित द होलिडे रिसोर्टमा आयोजना गरिएको हो ।
समिटमा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भिडोल र नेपाल गोल्ड लुब्रिकेन्टका डिलरहरूले कार्यक्रममा कम्पनी तथा डिलरबीचको सहकार्य, बजारका अवसर, व्यावसायिक सम्भावना तथा आगामी योजनाबारे अनुभव आदानप्रदान र छलफल गरेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड समारोहमार्फत सम्मान गरिएको थियो । व्यवसाय विस्तार तथा कम्पनीको विकासमा उल्लेखनीय योगदान पु¥याउने डिलर तथा टप परफर्मरहरूलाई उनीहरूको योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।
समिटकै अवसरमा कम्पनीले बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल र चेन ल्युब सार्वजनिक गरेको छ । यससँगै डिजेल एक्जस्ट फ्लुइडसमेत बजारमा ल्याइएको छ ।
नयाँ उत्पादनको विस्तारसँगै ग्राहकको बदलिँदो आवश्यकता तथा बजारको मागअनुसार आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्ने दिशामा कम्पनी अघि बढेको जनाएको छ ।
व्यावसायिक छलफल तथा अन्तरक्रियाका अतिरिक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधि समेत आयोजना गरिएको थियो । यस्ता गतिविधिले कम्पनी र डिलरबीचको सम्बन्धलाई थप आत्मीय तथा मजबुत बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ ।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिका डेपुटी जनरल म्यानेजर दिनेश खनालले ‘युनाइटेड डिलर्स समिट २०८३’ सफल, फलदायी र ऊर्जावान बनेको बताए । उनका अनुसार, समिटले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यावसायिक विकास तथा नयाँ अवसरका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ ।

















