काठमाडौ– संसदीय समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले जनचासोको विषयलाई तत्काल सम्बोधन गरी विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएको हो ।


ADVERTISEMENT


निजगढ विमानस्थल निर्माणको विषयमा सार्वजनिक चासो बढ्दै गएपछि संसदीय समितिले पनि यस विषयमा चासो देखाएको हो । जनचासोको विषयलाई समेत सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन् । त्यस्तै, समितिले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गर्न पनि सरकारलाई सचेत गराएको छ ।


ADVERTISEMENT

# # #


बैठकले पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सुचारु गराउन जग्गाको मुआब्जा सम्बन्धी व्यवस्था तत्काल गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सभापति रावलले जानकारी दिइन् । समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ । पशुपतिनाथ दर्शनमा उठेका भेटी लगायतका सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराइएको उनले बताइन् ।

समितिले लुम्बिनी क्षेत्र विकास कोषको गुरुयोजना तत्काल निर्माण गरी कामलाई अघि बढाउनसमेत निर्देशन दिएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनचासोको विषयलाई सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सो विमानस्थल निर्माण गर्दा वन क्षेत्रको फडानी कम होस् भन्नेमा सरकार सचेत रहेको समेत दाबी गरे ।

मन्त्री अधिकारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेरै विमानस्थल निर्माणको काम अघि बढाएको बताए । उनले अन्तराष्ट्रिय विमानस्थलको कामको अनुगमन गर्न पनि समितिलाई आग्रह गरे । उनले आफू पनि अनुगमनको क्रममा समितिका सांसदहरूसँगै जाने प्रतिबद्धता व्यक्त गरे । आफू मातहतको राष्ट्रिय गौरवको आयोजना निर्माणको काम तोकिएको अवधिमा सम्पन्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । बैठकमा समितिका सदस्यहरूले राष्ट्रिय गौरवका आयोजना निर्माणको काममा ढिलाइ गरिएको भन्दै मन्त्री अधिकारीको आलोचना गरेका थिए । – आजको राजधानी दैनिकबाट