काठमाडौं– ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्यामा मुछिएका तीन प्रहरी अधिकृतको निलम्वन फुकुवा भएको छ । प्रतिवादी एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन गृहमन्त्रालयले फुकुवा गरेको हो ।


ADVERTISEMENT


गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उच्च अदालतले विराटनगरबाट साधारण तारेखमा रिहा भएका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्वन फुकुवा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


‘अदालतबाट साधारण तारेखमा छुटिसकेपछि उनीहरुकोे कानुनीरुपमै निलम्वन हटिसकेको छ’, सुवेदीले भने, ‘अदालतले तत्कालका लागि दोषी नदेखी साधारण तारेखमा रिहा गरिसकेकाले निलम्वन फुकुवाको निर्णय भएको हो ।

केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले लोहनी, खनाल र केसीको नलिम्बन फुकुवा सम्बन्धी पत्र गृहमन्त्रालयलाई पठाएको थियो । गृहसचिव प्रेमकुमार राईले निलम्बन फुकुवाको निर्णय गरेको गृह स्रोतले जनाएको छ । तीनैजना प्रहरी अधिकारीलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशलाई पुनरावलोकन गर्दै उच्च अदालत विराटनगरले तीनै अधिकारीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । फौजदारी अभियोगमा प्रतिवादी रहेका तीनैजनालाई गृहमन्त्रालयले निलम्बन गरेको थियो । प्रहरी नियमावली २०७१ को नियम १ सय १५ को उपनियम ८ ले ‘फौजदारी अभियोगमा वा ऐन अन्तर्गतको कसूरमा गिरफ्तार भई थुनिएको वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारी साधारण तारेखमा छुटेको अवस्थामा बाहेक मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बनमा रहनेछ ।’भन्ने व्यवस्था गरेको छ ।

सुन तस्करी र सनम हत्याको छानविन गर्न गृह सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित छानविन समितिले तीन अधिकारीको घटनामा संलग्नता रहेको निष्कर्ष निकाल्दै प्रतिवादी बनाउने निर्णय गरेको थियो । समितिले अपराध महाशाखाको टोलीले कार्यक्षेत्र नाघेर प्रमाण नष्ट गरेको र मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सघाएको निष्कर्ष निकालेको थियो ।