काठमाडौं – नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले काठमाडौंको गँगबुस्थित नयाँ बसपार्कमा पहिलो चरणको यात्रु सहायता कक्ष शुभारम्भ गरिएको जानकारी दिए । उनले विजया दशमी, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको बताए । काठमाडौँ उपत्यकाभित्र १५ ठाउँमा र देशका अन्य प्रदेश तथा जिल्लाहरूमा पनि यस्ता सहायता कक्षहरू सञ्चालन गरिने उनको भनाइ छ ।

उनले चाडपर्वमा घर फर्कने यात्रुहरूले यात्रा सम्बन्धी आवश्यक जानकारी लिन, आफ्ना गुनासोहरू राख्न र सहज यात्राको वातावरण बनाउन सहायता कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।