काठमाडौं– मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT


काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै अध्यक्ष महरले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् । उनले भने, ‘साथीहरुले आईजीपीको राजीनामा माग गर्नुभएको छ, एकजना कर्मचारीलाई हटाएरमात्रै समस्याको समाधान हुँदैन् । सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको छ । सरकार आँफै बलात्कारी र अपराधीहरुको सरंक्षणमा जुटेको हामीलाई आभाष भएको छ ।’


ADVERTISEMENT

# # #


आयोजित सो साक्षात्कारमा बोल्दै उनले चाडपर्वको मुखमा अहिले ३०० प्रतिशतले मूल्यवृद्धि भएकोमा पनि आपत्ति जनाए । उनले भने, ‘चर्को मुल्यवृद्धिले सबैको ढाड सेकेको छ । यसको मारमा हामी सबै जनता परेका छौं ।’ हरेक कोणबाट यो ८ महिनामा सरकार सञ्चालन गर्न प्रधानमन्त्री ओली असफल भैसकेकोले अविलम्ब राजिनामा दिनुपर्ने महरको भनाई थियो ।

उनले भने, ‘हामीले अहिले यो आईजीपीको केशलाईमात्रै हेरेका छैनौं । कम्युनिष्ट सरकार निर्माण भैसकेपछि दुई तिहाईको दम्भ दिएर नेपालको संवैधानिक दायरालाईसमेत नाघेर आफूभन्दा फरक विचार राख्ने समग्र नेपाली जनताहरुमाथि निर्दयीताका साथ आफ्नो सिकञ्जा लाद्ने प्रयासमा छ । त्यसकारण हिजो हामीले सरकार गठन भैसकेपछि अहिलेसम्मको अवधिमा करिब ४५ भन्दा बढि अपराधजन्य घट्नामा सरकार संलग्न भएको हामीसँग फेहरिस्त छ । र, पछिल्लो पटक नेपाल सरकारको सुरक्षा निकायका एक जना प्रमुखको राजिनामा लिएर जसरी कुरा उठेको छ । एक जना प्रमुख र एकजना कर्मचारीलाईमात्रै हटाएर वर्तमान समस्याको समाधान हुँदैन् ।’

महरले जताततै कालाबजारी, माफीयाहरुको चलखेल, सुन तस्करहरु समात्दै फेरी कमिशन खाँदै छोड्दै बलात्कारी र हत्यारलाई संरक्षण दिने काममा सरकार लागेको आफूहरुलाई आभाष भएको आरोप लगाए । उनले थपे, ‘जे जसरी सरकार पछिल्लो पटक यो ७–८ महिनामा जनताका दैनिक दिनचर्याका चिजबस्तुमा ३ सय प्रतिशतभन्दा बढि मुल्य वृद्धि भएको छ । त्यो कांग्रेसलाई वा नेविसंघलाईमात्रै मुल्यवृद्धि भएको होईन । समग्र पत्रकारहरुलाईपनि यसको मार परेको होला ।’

पेट्रोलियम पदार्थको मुल्य हरेक १५–१५ दिनमा वृद्धि गरिएको सुनाउँदै उनले कडा आपत्ति जनाए । उनले थपे, ‘पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि त्यसले जनताका दैनिक जीवनमा आवश्यक पर्ने हरेक वस्तुमा मुल्य वृद्धि गराएको छ । त्यतिमात्रै होईन, यातायातका सबै साधनहरुमा आज जथाभावी र मनोमानी त छँदैछ । सिण्डिकेट अन्त्य हुने भनियो तर अहिलेसम्म भएको छैन । सिण्डिकेटका सञ्चालकहरुसँग सरकारले केही नजरआना लिएर सिण्डिकेटपनि केही अन्त्य भएको छैन् ।’

भर्खरैमात्रै सत्तासिन दलका एक जना जिम्मेवारी पूर्वमन्त्री एवम् सांसदले चीनीको आयातमा १३ अर्बभन्दा बढि नेपाल सरकार प्रधानमन्त्री ओलीको क्याविनेटले गरेको निर्णयका कारणले सिण्डिकेट लागु भएको भन्ने उल्लेख गर्दै भने, ‘ओलीको निर्णयका कारण एक अर्ब ६० करोडको भ्रष्टाचार भयो भन्ने कुरा बाहिर आएको छ । त्यतिमात्रै होईन, खानेपानी मन्त्रालय र संस्थानलगायत अन्य ठूला ठूला गम्भिर भ्रष्टाचारका विषयहरुपनि बाहिर आएका छन् ।’

सरकारले सिण्डिकेटको अन्त्य गर्छु भनेर बोल्यो तर अहिलेसम्म एकाधिकार पूर्ण रुपमा अन्त्य नभएको भन्दै उनले सरकारको आलोचनासमेत गरे । त्यस्तै उनले भुमाफीयाहरुले अर्बोंको चलखेल गरेर ७ नम्बर प्रदेशको राजधानी सार्न कोशिश गरेको पनि आरोप लगाए । उनले भने,‘७ नम्बर प्रदेशको राजधानी धनगढीबाट अन्यत्र ठाउँमा सार्नको लागि भूमाफीयाहरुसँग मिलेर सरकारले भर्खरैमात्र यत्रो स्क्याण्डल मच्चिएको छ । पर्यावरणीय जोखिमलाई समेत ध्यान नदिएर त्यसको अनुमानसमेत नगरीकन, कुनै योजना, तर्जुमाबिनै हचुवाको भरमा राजधानी सारेर त्यसमापनि अर्बौं रुपैयाँ कुम्ल्याएको भन्ने कुरा तपाई हामीले सुनेका छौं ।’

उक्त विषयमा सत्यतथ्य घट्नालाई आधार मानेर समाचार छाप्दा दैनिक पत्रिकाहरु जलाएकोपनि उनले सुनाए । उनले भने, ‘त्यसकारण सरकार हामीले हिजो भनेको सर्वसत्तावादी सोच, सबै समाज र देशका जतिपनि सत्ताहरु छन्, तीनीहरुलाई आफ्नो सिकञ्जामा लिएर सरकार निर्मम रुपमा अगाडि बढ्ने प्रयत्न गर्दैछ । त्यसकारण यो एकजना प्रहरी अधिकारीको कुरामात्रै होईन, समग्र सरकारको कुरा भएको कारणले मलाई लाग्छ, साथीहरुले गरेको घट्नालाई अझै माथि उठाएर समग्र रुपमा वर्तमान सरकार जो नेतृत्व गर्न सकिरहेका छैनन्, कुरा दुई तिहाईको छ, तर सुशासन जनताले पाएकै छैनन् । दिनप्रतिदिन विद्यालय, कलेज गएका बहिनीहरु बलात्कृत भएका छन्, बलात्कृतमात्रै होईन, मान्छेको ज्यानसमेत लिने अभ्यास भएको छ, हो यो क्रियाकलापमा समग्र केपी ओली सरकार असफल भएका कारणले म यहीँबाट एक विद्यार्थी संगठनको अध्यक्ष भएको नाताले मैले नेपाल सरकारका प्रधानमन्त्रीको राजिनामाको माग गर्दछु ।’

उनले ओलीले राजिनामा दिनुपर्ने र अर्को कोही आएर प्रधानमन्त्री चलाउनुपर्ने बताए । यद्धपी उनले आफूले कम्युनिष्टबाहेक अर्कोबाट प्रधानमन्त्री बन्नुपर्छ भन्दैनौं ।’

सरकार असफल भएको भन्दै देशलाई असफलताको खाडलमा जागिनबाट जोगाउनपनि प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने उनले बताए । उनले भने, ‘हामी अर्को पार्टीबाट प्रधानमन्त्री बनाउनुपर्छ भन्दैनौं । तर, वर्तमान प्रधानमन्त्री असफल हुनुभयो । उहाँले सरकार सञ्चालन गर्न सक्नुभएन् । यो ८ महिनाको अवधिमा केपी ओली सरकार सञ्चालनका हरेक फ्याक्टरमा, हरेक तीरबाट असफल हुनुभएको छ ।

त्यसकारण यो एउटा कर्मचारीको विषयभन्दा समग्र सरकारको विषय रहेको हुनाले मैले आदरणनीय प्रधानमन्त्रीजीको सञ्चालन प्रक्रिया पुगेन, उहाँको ढंगले देश समृद्धि हुने कि देश झन अन्यौल र झन खाडलमा भासिने भएको कारणले मैले उहाँको राजीनामा मागे ।’