कञ्चनपुर– खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ ।


ADVERTISEMENT


तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन् । जसमा चार भारतीयसमेत रहेका छन् ।


ADVERTISEMENT

# # #


आव २०७४÷७५ मा औलोका १३५ बिरामी फेला परेका थिए । जसमध्ये तीन बिरामीमा प्लाज्मोडियम फल्सिफारमको संक्रमण भएको पाइएको थियो । गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरी औलोका रोगी खोजी गरिएपछि सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताएका छन् ।

भारतका गुजरात, चेन्नई, नयाँदिल्ली, बैंगलोर, हल्द्धानी, पञ्जाव, उत्तर प्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, उडिसालगायत क्षेत्रमा लामो समय बसेर फर्केकामा औलो बढी देखिएको अधिकृत जोशीले बताए ।

उनका अनुसार जनस्वास्थ्य कार्यालयले भारतबाट आउने बिरामीलाई आयातित र जिल्लामा बसोवास गर्ने बिरामीलाई स्थानीय भनेर छुट्याई उपचार गर्ने गरेको छ ।

गड्डाचौकी नाकामा सतर्कता
भारतको बरेलीमा फैलिएको औलोेको महामारी रोकथामका लागि पश्चिमी सीमा नाका गडड्चौकीमा सतर्कता अपनाइएको छ । मलेरियाका शंकास्पद रोगीमाथि निगरानी राख्न थालिएको छ । सीमा नाकामा हेल्थडेस्क स्थापना गरी स्वास्थ्यकर्मीको छ टोलीलाई खटाइ शंकास्पद ज्वरोका रोगीमाथि निगरानी राख्न थालिएको हो ।

किटको माध्यमले रोगीको रगत चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । मलेरियाका बिरामी फेला परे डेस्कबाटै रगत जाँचपश्चात औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ । नजिकिँदै गरेका चाडपर्वका लागि भारतबाट फर्कने यात्रुको चाप सीमा नाकामा अधिक रहेको छ ।

भारतको बरेलीमा प्लाज्मोडियम फाल्सिफाराम मलेरियाको संक्रमणमा परेका ५८ जना बढीको मृत्यु भइसकेको छ । भारतको बरेलीमा औलोको महामारी फैलिएपछि कञ्चनपुरसँगै कैलालीको त्रिनगर भन्सार नाका र खक्रौला नामा हेल्थडेस्क स्थापना गरी शंकास्पद बिरामीमाथि निगरानी राख्न थालिएको छ ।