साँखु– साँखुका राजु श्रेष्ठलाई चाबहिलबाट साँखुसम्म यात्रा गर्न करीब दुई घण्टा लाग्छ । बर्खायाभरि पानीले सडक हिलाम्मे भएर यात्रा गर्नै सकस्, दशैँको मौसममा धुलोको उपहार । सडकमा धुइँपत्ताल उड्ने धुलोले यात्रा निकै सकसपूर्ण हुने गरेको उनको भनाइ छ ।


ADVERTISEMENT


दस किलोमिटर सडक पार गर्न घण्टौँ जाममा फस्नु त छँदै छ, त्यसमाथिको धुलको कहरले यात्रामा निकै कष्ट व्यहोर्नुपरेको दुखेसो श्रेष्ठले सुनाए ।


ADVERTISEMENT

# # #


धुलोका कारण यात्रु मात्र होइन सडक छेउका सर्वसाधारणले निकै दुःख खेप्नुपरेको छ । सोही मार्ग हुँदै नियमित चाबहिलसम्मको यात्रा गर्दै आएका विद्यार्थी अजय पुडासैनीले भने, “हिलोमा सवारीसाधन चिप्लिएर दुर्घटना हुने सम्भावना हुन्छ भने हिउँदमा धूलोले सडकै देखिँदैन । धुलोले मान्छे बिमारी नै पर्छ । हामीले कति वर्षसम्म धुलो खानुपर्ने हो ?”

सडकको अवस्था देखेर आजित बनेका नारायणटारका सुजन चौलागाईँ ट्याङ्करबाट पानी खन्याए धुलोबाट राहत पुग्ने बताउँछन् । “यहाँ न सडक बनाउन लाग्छन्, न धुलो हटाउन कुनै काम भएको छ,” उनले भने ।

दशैँतिहार जस्तो चाडबाडको मुखमा पनि चाबहिल–साँखु सडक विस्तार नसकिँदा जनजीवन झन् अस्तव्यस्त बनेको छ । अझै कति वर्ष यस सडकको अवस्थाले सम्पन्नताको रुप लिने हो, ठेगान नभएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठ बताउँछन् ।

सर्वोच्चको आदेशपछि झन् अन्यौल
सडक विस्तार शुरु गरेको वर्षौँ बित्दा पनि करीब ११ दशमलव ४६ किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गत वर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो । मुआब्जा प्रक्रियामा चल्दा सरकारले शुरुमा बजेट छुट्याउनु पर्नेछ र जग्गाको सर्वे गर्दा, मुअब्जा दाबी गर्दा तथा वितरणमा लामो समय लाग्ने श्रेष्ठको भनाइ छ ।

अदालतको फैसलाअनुसार जग्गाधनीलाई मुआब्जा दिँदै सडक निर्माण कार्य सँगसँगै गर्नु भनिएको छ । फैसलाअनुसार काम गर्दा जग्गाधनीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति गर्नुपर्नेछ । यसबाहेक बिजुलीका पोल हटाउने र तारलाई व्यवस्थापन गर्ने काम बाँकी नै छ ।

ठेकेदारको लापरवाही
विसं २०७२ मा सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले छनोट गरेको निर्माण व्यवसायीले वर्षौँ बित्दा पनि काम गर्न सकेका छैनन् । उनीहरु अदालतको आदेशले रोक्यो भन्दै पन्छिने गरेका छन् । उक्त मार्ग भएर दैनिक एक हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । स्थानीयवासी अच्युत बस्नेत धुलाम्मे सडकका कारण निकै समस्या भएको बताउँछन् ।

“सडकको अवस्था दयनीय छ, क्षमताभन्दा बढी यात्रु बोक्दा झन समस्या भएको छ,” उनले भने । व्यापार व्यवसाय गर्नेलाई धुलोका कारण निकै समस्या भएको छ ।

“धुलोका कारण पहिलेको तुलनामा ८० प्रतिशत व्यपार घटेको छ,” जोरपाटीका फेन्सी पसल सञ्चालक लक्ष्मण दुलालले दुखेसो पाखे । चाबहिलबाट साँखुसम्मको सडक समयमै निर्माण नगरे स्थानीयवासीले अझै केही वर्षसम्म धुलो र हिलोबाट सास्ती खेप्नुपर्ने देखिन्छ ।