वीरगञ्ज– साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् ।


ADVERTISEMENT


हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएका कारण हालसम्म सो चिनी बजारमा आउन नसकेको हो ।


ADVERTISEMENT

# # #


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत धनबहादुर बरुवालले राससलाई भने, “तर साल्टट्रेडिङ कर्पोरेशनको चिनी ढिलो गरी असोज ६ गते आएकाले सो चिनी हालसम्म गोदममै थन्किएर रहेको छ ।”

विसं २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँच पास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

उनले सुक्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट कुनै पनि पत्र नआएकाले यसबारेमा अहिले केही भन्न नसकिने बताए । यता साल्टट्रेडिङ कर्पोरेशनले सो चिनी आयात गर्न प्रतित् पत्र जारी गरिसकेको थियो । चिनी आपूर्तिकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुक्खा बन्दरगाहमा आइपुगेकाले चिनी गोदाममै थन्किएको साल्टट्रेडिङ लिमिटेड अञ्चल कार्यालय पर्साका प्रमुख अमोद लामिछानेले भनेयो, “चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ ।”

विगत २२ दिनदेखि सो चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएकाले उपभोक्ता महङ्गोमा भारतीय चिनी खरीद गर्न बाध्य भएका हुन् । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ ।

सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउनेक्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएका कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रतिकेजी रु ७० का दरले किन्न बाध्य छन् ।

सुक्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करी गरी ल्याएको भारतीय चिनी महङ्गो दरमा खरिद गरी उपभोक्ताले दशैँ मनाउनुपर्ने भएको छ । रासस