एजेन्सी– कामदारको आधा महिनाको तलब वैदेशिक रोजगार कम्पनीलाई दिने नयाँ व्यवस्थासहित शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा परेको छ ।


ADVERTISEMENT


रोजगारदाता कम्पनीलाई आर्थिक बोझ थप्ने काम भए त्यसले नेपाली कामदारको अन्तर्राष्ट्रिय श्रम बजार खुम्चिन सक्नेतर्क वैदेशिक रोजगार व्यवसायीहरूको छ ।‍ तर सरकारले भने नयाँ सम्झौताले मलेसियामा रोजगारीको अवसर गुम्ने कुनै सम्भावना नरहेको बताएको छ ।


ADVERTISEMENT

# # #


वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार नेपाल र मलेसिया सरकारबीच हुन लागेको नयाँ सम्झौतापछि प्रत्येक नेपाली कामदारको लागि रोजगारदाता कम्पनीले सवा एकदेखि डेढ लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने हुन्छ ।

सम्भावना
त्यसो भएमा रोजगारदाता कम्पनीहरू अन्य देशका सस्ता कामदारतिर आकर्षित हुन सक्ने सम्भावना बढ्ने र त्यसले नेपाली कामदारको श्रम बजार संकुचित हुने उनीहरू तर्क गर्छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङ भन्छन्, “यदि शून्य लागतमा कामदार पठाउने श्रम सम्झौता कार्यान्वयन भयो भने ८० हजारको स्थानमा १५ हजारले मात्र रोजगार पाउनेछन् । अनि रोजगारीको अवसर संकुचित हुने भयो कि भएन ?”

सरकारले भने विगत पाँच महिनादेखि मलेसियामा नेपाली कामदार पठाउन बन्द गरेरै मलेसिया सरकारसँग वार्ता थालेको थियो । सो वार्तालाई सम्झौताको तहसम्म पुर्‍याउन सक्नुलाई उसले सफलता भनेको छ ।

कार्तिकको दोस्रो साता नेपाल र मलेसिया सरकारबीच शून्य लागतमा कामदार पठाउने र कामदारको आधा महिना तलब मात्र वैदेशिक रोजगार कम्पनीले सेवा शुल्क वापत पाउने व्यवस्था सहित सम्झौता हुन लागेको सरकारी अधिकारीहरूले बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालका अनुसार नयाँ सम्झौताले कामदारको माग घट्ने नभइ थप सुरक्षित हुन्छ ।

उनले भने, “मलेसियालाई नेपाली कामदार चाहिएको छ, विशेष गरी सुरक्षा क्षेत्रमा । अन्य क्षेत्रमा पनि तुलनात्मक रूपमा अरू देशका भन्दा नेपाली कामदारहरू मन पराइन्छन् । त्यसैले कामदारको मागमा कमी नआउने हाम्रो अपेक्षा हो ।”

के होला ?

नेपाली कामदार नठगिऊन् भनेर सरकारले थालेको कदमलाई कैयौँले प्रशंसनीय मानेका छन् । तर तीन वर्षदेखि सरकारले लागु गरेको निःशुल्क भिसा र टिकटको कार्यान्वयन यथार्थमा गर्न नसकेको भन्दै नयाँ सम्झौताको पनि हालत त्यस्तै हुन नदिन सरकार सजग हुनुपर्ने कतिपय बताउँछन् ।

व्यवसायीहरूका अनुसार बांग्लादेश, पाकिस्तान, भारत, श्रीलङ्का, नेपाल र इन्डोनेसियाका कामदारहरूको मुख्य रोजगार गन्तव्यमा मलेसिया रहँदै आएको छ । जसमा इन्डोनेसियापछि सबभन्दा बढी कामदार पठाउने देशमा नेपाली छ ।

नेपाल भित्रिने कुल रेमिट्यान्स अर्थात विप्रेषणमध्ये ३५ प्रतिशत जति मलेसियाबाट आउने गरेको छ । बिबिसी