काठमाडौं – पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको भोलिपल्ट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भेला गरेका छन् । महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा भएको भेलालाई अनौपचारिक भनिएको छ । तर, विधान मस्यौदाबारे छलफल गरेका छन् ।


ADVERTISEMENT


भेलामा नेता पौडेल, महामन्त्री कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, दीपक खड्का, प्रदीप पौडेललगायत सहभागी थिए ।


ADVERTISEMENT

# # #


एक सहभागीका अनुसार वरिष्ठ नेता पौडेल भोलिबाट चारधाम तीर्थयात्रामा जाने तय भएकाले अनौपचारिक छलफल राखिएको हो । ‘उहाँले म १२ गते फर्किन्छु । विधानबारे छलफल गर्दै गर्नुहोला तर, हतारमा कुनै निर्णयमा नपुग्नुस् भन्नुभएको छ’ उनले भने ।

आफू फर्किएपछि धेरै नेताको सहभागितामा छलफल गरेर साझा धारणा बनाउने उनको प्रस्ताव थियो ।

छलफलमा नेता बडूले विधान संशोधन मस्यौदा समितिमा भएका छलफलबारे ब्रिफिङ गरेका थिए । नेता प्रदीप पौडेलले भने पार्टी सभापतिलाई पदाधिकारी मनोनयनको अधिकार दिने भए क्रियाशील सदस्य वा क्षेत्रीय प्रतिनिधिबाट चुन्नुपर्ने धारणा राखेका थिए ।

एक नेताका अनुसार यो भेला कुनै निर्णय गर्नुभन्दा पनि विधानबारे भएको छलफलबारे जानकारी गराउनु उद्देश्यले गरिएको थियो । यसअघि पौडेल समूहका भेला कहिल्यै महामन्त्री शशांकको निवासमा भएको थिएन । अधिकांश भेला पौडेल निवास बोहोराटार वा पार्टी प्यालेसमा हुने गरेको थियो ।

यो पटक निवासमा भेला गरेर महामन्त्री कोइरालाले आफूलाई पौडेल समूहका नेताका रुपमा प्रस्तुत गरेको विश्लेषण नेताहरुको छ । यद्यपि उनले यसबारे सोमबारको छलफलमा मुख खोलेनन् ।