बुटवल– रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका देवी देवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न यहाँ होडबाजी हुने गरेको छ ।


ADVERTISEMENT


दशैँ अर्थात् नवदुर्गा पूजा शुरु भएपछि स्थानीयवासीले भजनकीर्तनसहित हर्षउल्लासका साथ पूजाआजा गर्ने चलन छ । पूजाअर्चनाका लागि बनाइएको देवीदेवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न स्थानीयवासीले रु ५० हजारदेखि रु एक लाखसम्म दान गर्ने गरेको शुद्धोदन गाउँपालिकाका रामजी लोधले बताए ।


ADVERTISEMENT

# # #


उनले प्रतिमाको आँखामा लगाइएको पट्टि खोलेपछि त्यसको पहिलो रोशनी जसलाई पर्छ, त्यसको दीर्घायु, सुख, शान्ति र समृद्धि हुने धार्मिक विश्वास रहेको बताए ।

जिल्लाको सैनामैना नगरपालिका, शुद्धोद्धन गाउँपालिका, कञ्चन गाउँपालिका, सियारी गाउँपालिकालगायतका विभिन्न स्थानमा दुर्गा भवानी, श्री गणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमा बनाएर पूजाअर्चना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

बाँस, पराल, काँटी, कपडालगायतका विभिन्न वस्तुको प्रयोगबाट कालीगढले निर्माण गरिएको दुर्गा भवानीको प्रतिमाले महिसासूरलाई वध गर्न लागेको दृश्यसमेत देख्न पाइन्छ । त्यसका लागि उनीहरुले भारतका विभिन्न ठाउँबाट प्रतिमा खरीद गरेर ल्याउँछन् । दुर्गाजीको विभिन्न स्वरुप छ, त्यसैले उहाँको स्थायी मूर्ति बन्दैन, सैनामैना–५ का विष्णु ज्ञवालीले भने ।

महिसासूरको वध गर्दा महाकालीलगायतका देवी तथा देवता हातहतियारले सुसूज्जित भएकाले यसको स्थायी मूर्ति नबन्ने र त्यो माटोको बन्ने बताइएको छ । भारतबाट झण्डै ३०० को हाराहारीमा ती मूर्ति रुपन्देही आएको बताइएको छ । पण्डित पीताम्बर अर्यालले थारु तथा मधेशी समुदायमा बलि दिने प्रचलन नभएको जानकारी दिँदै नौ दिनसम्म देवी भगवतीको पूजा आरधना गरे धनधान्य, सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको बताए। शक्तिरुपा नवदुर्गाका नौ वटा स्वरुप छन् । नवरात्रभर हरेक दिन फरकफरक स्वरुपमा देवीको पूजा आरधना गर्ने परम्परा छ । –युवराज पाण्डे/रासस