पोखरा– पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराको सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो, यहाँको कालिका मन्दिर । पछिल्लो समय बजारीकरणको विकास र विस्तार भए पनि यहाँ बस्ती बस्नुअघिदेखि नै अस्तित्वमा रहेको यो मन्दिर स्थापनाको वास्तविक तिथि मिति भने अझै अनुसन्धानको पर्खाइमा छ ।


ADVERTISEMENT


पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको यो क्षेत्र कास्की जिल्लामा नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बन्दै गएको छ । यहाँका उत्पादित कृषिजन्य दूध, तरकारीआदि पोखरा बजारमा निकै माग हुन्छ । व्यावसायिक कृषिको विकाससँगै यो क्षेत्र दूधको शहरका रुपमा परिचित बनेको छ ।


ADVERTISEMENT

# # #


बजारीकरणको विकास विस्तार भए पनि कालिकास्थान र यहाँ वरपरको सय वर्षभन्दा पुरानो इतिहासको ज्वलन्त उदाहरण कालिका मन्दिर भने प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बाघमारामा बस्ती बस्नुभन्दा धेरै पहिलेदेखि अस्तित्वमा रहेको मन्दिर यहाँको महत्वपूर्ण सम्पदा रहेको स्थानीयवासी एवम् कालिका मन्दिर संरक्षण समितिका कोषाध्यक्ष ढाकाराम आचार्यले बताए ।

“कालिका मन्दिरको इतिहास खोतल्दा यो सय वर्षभन्दा पनि पुरानो भएको धेरै प्रमाण छन्,” उनले भने, “स्थानीयवासीको पहलमा हाल लगभग एक रोपनीभन्दा बढी क्षेत्रफलमा प्राचीनकालदेखि पूजा गरिँदै आइएको शिलासहितको मन्दिर र लगभग २० वर्षअघि निर्माण गरिएको नयाँसहित दुईवटा मन्दिरको परिसरलाई पर्खाल लगाएर संरक्षण गरिएको छ ।”

मनोकामना पूरा हुने विश्वासका साथ बाघमारा र आसपासका दर्शनार्थी मन्दिरमा पूजाआजाका लागि आउने गरेका छन् । अर्का स्थानीयवासी एवम् सरस्वती टीका माध्यमिक विद्यालयका शिक्षक सूर्यमोहन आचार्य प्राचीन ऐतिहासिक मन्दिर भएर पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताउँछन् । उनका अनुसार कालिका देवीको मन्दिरकै कारण यस स्थानको नाम कालिकास्थान रहन गएको हो ।

समुदायको उन्नति र प्रगतिको कामना गर्दै यहाँका भक्तजनले पाँच पाँच वर्षमा पञ्चबलि दिने गरेका छन् । हरेक चैते दशैँको पाँच वर्ष पुगेपछि पञ्चबलि दिने गरिन्छ भने प्रत्येक चैते दशैँमा पाठाको बलि दिने प्रचलन छ । आश्विन शुक्ल पक्षका अवसरमा नवदुर्गामा नियमित दुर्गा पाठ गर्ने गरिएको आचार्यले जानकारी दिए ।

उनका अनुसार हालको मन्दिरको पाटी सरस्वती भुषालले, मूर्ति मणिराज आचार्य (ठूलो)ले बाघको मूर्ति पदमराज पौडेलले र विभिन्न शङ्ख घण्टा भक्तजनबाट प्राप्त भएका छन् । मन्दिर नजीकै रहेको सरस्वती टीका मावि र सरस्वती टीका बहुमुखी क्याम्पसका कारण यो क्षेत्र शैक्षिक केन्द्रका रुपमा पनि विकास हुँदै गएको छ । गुणस्तरीय शिक्षाका लागि क्रियाशील बन्दै गएका यी शैक्षिक संस्थाले विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न सफल बनेका छन् । बाघमाराको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिका मन्दिरको प्राचीनता सम्बन्धमा थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

समुदायको रक्षा र सुख–शान्तिका लागि परापूर्वकालमा नै मन्दिर स्थापना गरिएको पाइए पनि यहाँको बस्ती विकासको क्रमले भने २०२५ सालपछि मात्र गति लिएको पाइन्छ । शुरु शुरुमा औलोंको प्रकोप हुने लगायतका कारणबाट मानिस पाखामा बस्ने गरेकामा यसको नियन्त्रणमा सरकारी प्रयास शुरु भए पनि बेशीँतिर झर्ने प्रचलन बढेको हो ।

प्रत्येक सांस्कृतिक धरोहरको इतिहासलाई जोगाउनु पछिल्लो युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने पोखरा–३३ भरतपोखरी वर माझथरका गुरुप्रसाद पौडेलले बताए । प्रत्येक शक्तिपीठमा भक्तिको मात्राअनुसार नै शक्तिको वृद्धि हुने बताउँदै उहाँले इतिहासको जगेर्ना गर्दै युवा पुस्तामा भक्तिभाव एवम् श्रद्धाभाव बढाउनु अपरिहार्य भएकोमा जोड दिए ।

बाघमाराको विकाससँगै यसको इतिहासको साक्षी कालिका मन्दिरको गरिमा र महत्वलाई प्रचारप्रसार गर्नु आवश्यक रहेको उनको भनाइ छ ।रासस