घोराही– यहाँका प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुवाङ र नारायणपुर बजार क्षेत्र र बजार छेउछाउका गाउँमा चल्ने अटो एवं इरिक्साले मनपरी भाडा उठाउँदै आइरहेका छन् ।


ADVERTISEMENT


यातायात व्यवस्था कार्यालय तुलसीपुरले गत असार २७ गते जिल्लामा सञ्चालन हुने अटो एवं इरिक्साको निश्चित भाडादर कायम गरे पनि यहाँ चल्ने कुनै पनि अटो एवं इरिक्साले सरकारी निर्देशनलाई मानेका छैनन् । यातायात व्यवस्था कार्यालयले प्रतिदुई किलोमिटर रु २० र त्यसपछि प्रतिकिलोमिटर थप रु १० थप हुने गरी भाडादर कायम गरेको थियो । जिल्लाका सबैजसो अटो व्यवसायीले भने सरकारी निर्देशनको अवज्ञा गर्दै अटो चढ्नेबित्तिकै रु ५० लिने गरेका छन् । त्यसमा पनि दुई जना चढेमा रु ८० सम्म लिने गरेका छन् ।


ADVERTISEMENT

# # #


दशैँमा गन्तव्यसम्म पुग्न बाध्यताले अटो चढेकाहरुलाई चालकले ओर्लने समयमा मनपरी भाडा माग्ने र सरकारी भाडादर दिन खोजे झगडा एवं गालीगलोजमा समेत उत्रने गरेका छन् । यसैले बजार क्षेत्रभित्र स्थानीयवासीले नगर बसको आवश्यकता महसुस गर्न थालेका छन् ।

अटो व्यवसायीले मनपरी भाडा लिएपछि घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा पटक पटक मौखिक उजुरी आएपछि अहिले अटोको भाडादर र व्यवस्थापनमा कडाइ गरिने भएको छ । अटो रिक्साले जथाभाबी रोकेर दुर्घटना बढाउने, जहाँतहीँबाट यात्रु ओसार्ने र मनपरी भाडा माग्ने गरेपछि अटो व्यवसायीलाई उपमहानगरपालिकाले एक साताभित्र त्यसलाई व्यवस्थित गराउने घोराही उपमहानगरपालिकाका उपप्रमुख एवं अटो तथा इरिक्सा व्यवस्थापन समितिका संयोजक सीता न्यौपानेले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवरले पनि एक साताभित्र जिल्लाका अटो एवं इरिक्सालाई नियममा बाँध्ने बताए । जताततैबाट भाडामा मनपरी भएको गुनासो आएपछि यसको नियमनका लागि आफूहरुले उपसमितिसमेत गठन गरेको जानकारी उनले दिए । घोराहीमा मात्र करीब ८०० अटो एवं इरिक्सा छन् तर हालसम्म एक दर्जनले मात्र उपमहागनरमा दर्ता गरेका छन् । अटो व्यवसायीका अनुसार हाल जिल्लामा करीब तीन हजार ५०० अटो रिक्सा सञ्चालनमा आएका छन् ।