ललितपुर– साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT


सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उहाँको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।”


ADVERTISEMENT

# # #


उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उनले बताए । आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उनको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उनले बताए । उनले भने, “अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ ।”


सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले आगामी छ महीनाभित्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने बताए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा बस ल्याइएको हो । बसको बजार मूल्य रु दुई करोड रहेको साझा यातायातले जनाएको छ । २० जना क्षमताको बस अपाङ्गतामैत्रीसमेत रहेको छ । बसको व्यवस्थापन साझा यातायातले गर्ने भएको छ ।

तस्बिर : रोशन सापकोटा/रासस