काठमाडौँ– नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् ।


ADVERTISEMENT

# # #


महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन् ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले विजयादशमीको टीका कात्तिक २ गते रहेकाले टीकालगत्तै काठमाडौँ फर्कने यात्रुको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए।

महाशाखाका अनुसार कात्तिक ३ गते एक लाख सात हजार ३४८, कात्तिक ४ मा एक लाख २१ हजार ६२६, कात्तिक ५ मा एक लाख २३ हजार ९१३ र कात्तिक ६ गते एक लाख १६ हजार ८२ यात्रु उपत्यका भित्रिएका छन् ।

“दशैँ सकिएसँगै निजी सवारी साधनदेखि सार्वजनिक सवारी साधनसम्म मान्छे भरिएर उपत्यका भित्रिएका छन्”, उनले भने।

यस्तै कात्तिक ३ मा १२ हजार २७९, कात्तिक ४ मा १६ हजार ४०१, कात्तिक ५ मा १४ हजार ७२४ र कात्तिक ६ मा १४ हजार ५९९ सार्वजनिक सवारी साधन विभिन्न नाका हुँदै काठमाडौँ भित्रिएका छन् । दशैँ सकिएलगत्तै उपत्यकाका सडकमा गुड्ने सवारी साधनको सङ्ख्यामा समेत वृद्धि भएको महाशाखाले जनाएको छ ।