भक्तपुर– घरमा टेलिभिजन, फ्रिज, पंखा, हिटरजस्ता बढी बिजुली खपत गर्ने सामान प्रयोग भइरहे पनि मिटरमा कम खपत देखाएको भए सचेत हुनुपर्ने बेला आएको छ । नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रको विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा धेरै घरमा थाहै नहुनेगरी विद्युत् चुहावट भइरहेको फेला परेपछि कारबाहीको भागीदार हुनुपरेको छ ।


ADVERTISEMENT


बाजेका पालामा अपनाइएको बिजुली चोरीको विधि घरपरिवारले थाहा नपाउँदा नाति पुस्ता कारबाहीमा पर्ने अवस्था आएको छ । ‘बाजेको पालामा मिटर राखेर बत्ती बलेका रहेछन्’, भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले भने, ‘बाजेकै पालामा चोरीको विधि अपनाइयो । घरपरिवारलाई थाहा भएन । अहिले नातिको पालामा पत्तो लाग्यो । चुहावट गरिरहेको थाहा पाएपछि कारबाही नगरी भएन ।’


ADVERTISEMENT

# # #


उनले बाजेको पालादेखि अहिलेसम्म न्युनतम मात्रै विद्युत् खपत भइरहँदा पनि घरका मान्छेले वास्ता नगरेका कारण कारबाही भोग्नेको संख्या बढिरहेको बताए । घर पाँच छ तलाको भए पनि महसुल न्युनतम मात्रै देखाएकाले ती घर अनुसन्धानको घेरामा परेको उनले बताए । शंका लागेर त्यस्ता घरमा जाँच गर्दा वर्षौँदेखि विद्युत् चोरी भइरहेको भेटिएको श्रेष्ठको भनाइ रहेको छ । – आजको अन्नपूर्ण पोस्टबाट