दाङ– शान्ति सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर अलपत्र रहेका छन् ।


ADVERTISEMENT


सिसी क्यामेरा बिग्रिएर काम गर्ने छोडेको धेरै समय बितिसक्दा पनि मर्मतमा कसैको ध्यान जान सकेको छैन । यहाँका भीडभाड हुने ठाउँमा शान्ति सुरक्षालाई मध्यनजर गरी जडान गरिएका क्यामेरा बिग्रेको डेढ वर्ष बितिसक्दा पनि न प्रहरीले चासो दिएको छ, नत तुलसीपुर उपमहानगरपालिकाले नै । तुलसीपुरको वीरेन्द्रचोक, बिपी चोक र बसपार्क क्षेत्रलाई लक्षित जडान गरिएका क्यामेरा कन्ट्रोल रुम भने इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेको छ ।


ADVERTISEMENT

# # #


विसं २०७१ मा तुलसीपुर उद्योग वाणिज्य सङ्घको पहलमा र साविकको तुलसीपुर नगरपालिकाको करीब रु चार लाखको आर्थिक सहयोगमा ती क्यामेरा जडान गरिएका थिए ।

यसैबीच इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिग्रिएका क्यामेरा मर्मत गर्न अरु स्थानमा थप क्यामेरा जडान गर्ने भन्दै तुलसीपुर उपमहानगरपालिकालाई अनुरोध गरिसकेको बताए । उनले नगरपालिकाले बजेट व्यवस्थापन गरिदिए छिट्टै सञ्चालन गरिने बताएका छन् ।