काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा सन्दीप लामिछानेको टिम विराटनगर टाइटान्सले पहिलो जित निकालेको छ । विराटनगरले बुटबल ब्लस्टर्स अन्तिम ओभरमा १२ रनले हराउँदै अघिल्लो चरणको सम्भावनालाई कायम राखेको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगर टाइटन्सले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो । १४१ रनको लक्ष्य पाएको बुटवलले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्रै बनाउन सक्यो । बुटवललाई पहिलो हारको स्वाद चखाउन विराटनगरका किशोर महतोले उत्कृष्ट बलिङ गरे ।


ADVERTISEMENT

# # #


अन्तिम ओभरमा बुटवललाई जितका लागि १३ रन चाहिएको अवस्थामा किशोरले मेडेन ओभर बलिङ गर्दै आफ्नो टिमलाई पहिलो जित दिलाए ।

बुटवलका लागि भीम सार्कीले अर्धशतक पूरा गरेपनि त्यो जितका लागि प्रयाप्त हुन सकेन ।  उनले ४२ बलमा ५० रन बनाए । जसका लागि ४ चौका र १ छक्का प्रहार गरे । यस्तै सागर पुनले २९ रन बनाउँदा शंकर रानाले २३ रन हाने भने सिद्धान्त लोहनीले १५ रन बनाउँदा राजु रिजालबाट रन आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २/२ विकेट लिए । यस्तै साहव आलम र सुनिल धमलाले १/१ विकेट लिए ।

यसअघि ओपनिङ ब्याट्सम्यान सुनिल धमलालाई गुमाएको विराटनगरका लागि अर्का ओपनिङ ब्याट्सम्यन मोहमद जाइद आलमले ब्याटिङ लाइन सम्हाले ।

टोलीका लागि उनले व्यक्तिगत ७२ रन बनाए । ७२ रन बनाउने क्रममा आलमले ५ छक्का र ६ चौका प्रहार गरेका थिए । भने अर्का ब्याट्सम्यान प्रदिप सिंह ऐरीले ४१ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ओपनिङ ब्याट्सम्यान सुनिल धमला र पुष्प थापा शुुन्य रनमा आउट भए ।

विराटनगरलाई १४० रनमा रोक्न बुटबलका ललित भण्डारीले २ विकेट लिए भने सागर पुन, साम्सद शेख र विपीन खत्रीले समान एक—एक विकेट लिए ।