काठमाडौँ– दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको व्यवस्थापन हुन नसक्दा त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल क्याम्पसको भवन निर्माण कार्य लम्बिएको छ ।


ADVERTISEMENT


निमित्त क्याम्पस प्रमुख प्रा डा रोहितकुमार पोखरेलले भने, “हामीसँग बाँकी रहेको तीन रोपनी जग्गामा सात तलाको सुविधासम्पन्न भवन बनाउन लागिएको हो । तर त्यो खाली जग्गामा भूकम्पमा परेर मृत्यु भएका स्वदेशी र विदेशीको शव गाडिएको छ, ती शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुन ढिलाइ भएकाले निर्माण अलि लम्बिएको हो ।”


ADVERTISEMENT

# # #


फरेन्सिक मेडिसिन विभागबाट शव परीक्षण भएका तर नाम सनाखत हुन नसकेका ३२ नेपाली र विदेशी व्यक्तिको शवका साथै विगत ४१ वर्षदेखि उक्त जग्गामा निरन्तर शव गाड्दै आएकाले त्यसका लागि पनि अर्को व्यवस्था नभएसम्म भवन निर्माण गर्ने कार्य अल्झिएको हो । ती शवलाई अन्य स्थानमा सार्ने वा जलाउने के गर्ने भन्ने निर्णय भएको छैन भने विदेशीको शव पनि आफूखुसी व्यवस्थापन गर्न नमिल्ने क्याम्पसको भनाइ छ ।

क्याम्पसले रु ६० करोड लगानीमा साततले अत्याधुनिक भवन बनाउन क्याम्पस हाताभित्र खाली रहेको तीन रोपनी जग्गामा तयारी थालेको थियो ।

वर्षौंदेखि सो जग्गा शव गाड्नका लागि प्रयोग हुँदै आएकाले त्यसका लागि पनि अर्को स्थानको व्यवस्था गर्नु आवश्यक छ । क्याम्पसले उक्त समस्या समाधानका लागि नेपाल प्रहरी, महानगरपालिका र विदेशीको पनि शव भएकाले त्यसको व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्र्ने तयारी गरेको निमित्त क्याम्पस प्रमुख पोखरेलले बताए ।

फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा डा हरिहर वस्तीले भने भवन बन्ने कुरा आफूलाई जानकारी नभएको बताए।

उनले भने, “त्यहाँ विगत ४५ वर्षदेखि शव गाडिँदै आएको छ । त्यहाँ अहिलेसम्म हजारौँ शव गाडिएका छन्, त्यहाँ भवन बन्नेबारेमा जानकारी छैन । हल्ला सुनेको त छु तर मलाई आधिकारिक जानकारी आएको छैन । त्यो करिब आठ÷दश रोपनी जग्गा अहिले कम हुँदै आएको छ । एकपल्ट गाडिसकेपछि त्यहाँ अर्को गाड्न मिल्दैन । अहिले सनाखत हुन नसकेको शवलाई व्यवस्थापन गर्न जमिनको निकै अभाव हुँदै गएको छ । सरकारले यस विषयमा ध्यान दिनु आवश्यक छ ।”

नयाँ बन्ने भवनमा अत्याधुनिक ल्याब, अनुसन्धान गर्ने स्थान रहने बताइएको छ । “हामीसँग भौतिक संरचनाको बढी नै अभाव छ । विद्यार्थीलाई पढाउने कक्षाकोठा, विषयवस्तु अनुसारका शिक्षक बस्ने स्थानको अभाव, अत्याधुनिक उपकरण राख्ने स्थानको अभाव भएर नै नयाँ भवन बनाउन लागिएको हो”– निमित्त प्रमुख पोखरेलले भने ।

महाराजगन्ज मेडिकल क्याम्पसअन्तर्गत अहिले ५० भन्दाबढी कार्यक्रम सञ्चालनमा रहेका छन् । शैक्षिक कार्यक्रमअनुसारको आवश्यक भौतिक संरचना हुँदै नभएको क्याम्पसको भनाइ छ । कल्पना पौडेल/रासस