काठमाडौँ– नेपालमा पहिलोपटक घरेलु फोहोरबाट उत्पादन हुने ‘होम बायोग्यास’को शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई व्यवस्थापन गरी ग्यास उत्पादन गर्न यसले सहयोग पुर्याउने धारणा व्यक्त गरेका छन् ।


ADVERTISEMENT


‘महानगरपालिकाले उपत्यकाका फोहरबाट ग्यास उत्पादन गर्ने गृहकार्यमा लागेको छ,’ उनले भने, ‘कुहिएका फोहर फाल्नुको सट्टा घरमै ग्यास उत्पादन हुने र बाहिरबाट ग्यास किन्नु नपर्ने हुन्छ, त्यसैले यस्तो प्रविधि प्रयोग गर्नका लागि महानगरपालिकाले प्रोत्साहन गर्नेछ ।’


ADVERTISEMENT

# # #


वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले होम बायोग्यास प्रणालीबाट फोहर फाल्न र उठाउनजस्ता समस्या समाधान हुने र खाना पकाउनका लागि ग्याससमेत उत्पादन हुने बताएका छन् ।

के हो होम बायोग्यास ?
एडन इञ्जीनियरिङ सोलुसन प्रालि तथा शङ्खमूल बृहत् सरसफाइ अभियानले घरमा उत्पादन हुने कुहिने फोहरबाट खाना पकाउने मिथेन ग्यास उत्पादन गर्ने बायोग्यास प्रणाली इजरायलबाट भित्र्याएका हुन् । करीब रु ९० हजार पर्ने उक्त होम बायोग्यासलाई घरको छतमा सजिलै राख्न सकिन्छ ।

घरबाट निस्किएका खाना, तरकारीको फोहर उक्त बायोग्यासमा हालिन्छ र यसबाट उत्पादन हुने ग्यासले दैनिकरुपमा खाना पकाउन सकिने एडन सोलुसन प्रालिका प्रभात भट्टराईले बताएका छन् । उक्त बायोग्यास छतमा २० डिग्रीभन्दा बढी तापक्रममा राख्नुपर्दछ । जति धेरै तापक्रम भयो, फोहरबाट त्यती नै बढी ग्यास उत्पादन हुने उनले बताए ।

दैनिक तीन किलो फोहर उक्त प्लान्टमा हाल्नाले तीन घण्टासम्म ग्यास आउने उनको भनाइ छ । पोलिइथाइलिन भन्ने पदार्थबाट बनेको उक्त बायोग्यासको आयु १० वर्षको हुने जनाएको छ । फोहरबाट उत्पादन हुने ग्यास भान्सामा पाइपका माध्यमबाट चुलोमा जोडिन्छ र खाना पकाइन्छ । रासस