काठमाडौँ– स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले रायो भालेकानोविरुद्ध नाटकीय जित हासिल गर्दा रियल मड्रिडले पनि रियल भालाडोलिडलाई २–० ले हराउँदै लिगको लगातार छैटौं खेलमा पहिलो जित निकालेको छ ।


ADVERTISEMENT


रायो भालेकानोविरुद्ध हारनजिक रहेको पाहुना टोली बार्सिलोनाका लागि ओस्मान डेम्बेले र लुईस स्वारेजले खेलको अन्तिम तीन मिनेटभित्र २ गोल गरी टोलीको उद्धार गरे ।


ADVERTISEMENT

# # #


११औं मिनेटमा लुइस स्वारेजको गोलमार्फत बार्सिलोनाले अग्रता लिए पनि ३५औं मिनेटमा जोसे एंजेल पोजो र ५७औं मिनेटमा अल्भारो ग्यारिकाले गोल गरी घरेलु टोली भालेकानोलाई अग्रता दिलाए ।

जारी सिजन लिगमा दोस्रो जितको नजिक रहेको भालेकानोबिरुद्ध ८७औं मिनेटमा ओस्मान डेम्बेलेले बराबरी गोल फर्काए । खेलको अन्तिम मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले नाटकीय जितसँगै स्पष्ट तीन अंक जोड्यो । जितसँगै उसको ११ खेलबाट २४ अंक भएको छ ।

यता जुलेन लोपेटेगीलाई बर्खास्त गर्दै सान्टियागो सोलारीलाई प्रशिक्षक नियुक्त गरेको रियल मड्रिडले लिगको लगातार छैटौं खेलमा पहिलो जित हासिल गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबाउमा रियलका लागि सब्सिच्युड खेलाडी भिनिसियस जुनियरले ८३औं तथा सर्जियो रामोसले ८८औं मिनेटमा गोल गरेका थिए । ११ खेलबाट रियलको १७ अंक भएको छ ।