काठमाडौं– आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको बताएका छन् ।
चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आज राजधानीमा आयोजित ‘हिमालयन समीट’ मा अध्यक्ष ढकालले नेपाल र चीनवीच प्राचीनकालदेखि नै रहीआएको ऐतिहासिक र संस्कृतीक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिमप्राप्त शिक्षीत युवा जनशक्ति तयार हुँदै गएको बताए ।
काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउदै माउन्ट एभेरेस्ट, उच्च हिमसृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए। यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहोर्याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता ब्यक्त गर्दै दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली नीजि क्षेत्र तयार रहेको जानकारी दिए ।
उक्त सत्रमा चिनीया र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव एक सय जनाको सहभागिता रहेको थियो ।