कुश्मा– तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ ।


ADVERTISEMENT


कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटलसमेत भरिभराउ भएका छन् । त्यति मात्र नभएर माटोको शहरका रुपमा परिचित मुस्ताङमा सडक सञ्जालसँग जोडिएसँगै मुक्तिनाथ, लोमान्थाङ, कोरल्ला जाने पर्यटकसमेतका कारण कुश्माका होटल व्यस्त भएका हुन् ।


ADVERTISEMENT

# # #


“यहाँका पुलका अलवा, बागलुङ, म्याग्दी र मुस्ताङसमेत जाने पर्यटकहरु कुश्मामा वस्न रुचाउँछन्,” होटल बन्दना प्रालिका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले भने, “मुस्ताङ खुलेपछि त हामीलाई एकछिन् फुर्सद छैन, होटल कुनै दिन खाली हुँदैन ।”

यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । मुस्ताङ पोखराबाट हवाई यात्रा गरेर जान सकिने भएपनि यात्रुले उक्त यात्रा जोखिमपूर्ण मान्दै आएका छन् ।

पैदलयात्रीहरु बागलुङ, म्याग्दी होस् वा मुस्ताङ जहाँ भए पनि जाँदा वा आउँदा अग्ला पुलका कारण कुश्मामा झर्ने गरेको होटल व्यवसायी विषमकुमार श्रेष्ठ बताउँछन् । अरू बेला पनि आन्तरिक पर्यटक कुश्मामा निकै आउने गरेका छन् । उनले भने, “मुस्ताङ खुलेपछि त कुश्माका राम्रा होटल कुनै खाली हुँदैनन् ।”

कुश्मा बजारका बेञ्जु, बन्दना, न्यू फ्रेण्डली, गोल्डेन, व्रिजभ्यूलगायत होटल तीज लागेसँगै भरिभराउ हुन थालेका हुन् । उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय निकै बढेको छ । मुस्ताङ जान कुश्मा, बेनी, घाँसा हुँदै जोमसोम जानुपर्ने हुन्छ । मुस्ताङ जानेहरु चिसो मौसम शुरु हुनु अगावै त्यहाँ पुग्न रुचाउँछन् । दैनिक मोटरसाइकलमा मात्रै सयौँको सङ्ख्यामा पर्यटक मुस्ताङ घुम्न जान थालेका पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उनका अनुसार दैनिक बस, मोटरसाइकल र जीप गरी झण्डै चारसय हाराहारीमा मुस्ताङतर्फ गएका छन् ।

विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ हिजोआज स्वदेशी पर्यटकको समेत रोजाइमा परेको छ । प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो ।

स्थानीय कला र हिमाली संस्कृतिको अध्ययन, अनुसन्धानका लागि पनि सो क्षेत्र महत्वपूर्ण मानिन्छ ।चिनियाँ पर्यटक लुम्बिनी र भारतीय पर्यटक मुक्तिनाथ भित्र्याउँदै मानसरोवार, दामोदर कुण्ड पुर्याउने लक्ष्यसाथ निर्माण भएको कालीगण्डकी करिडोरले समेत मुस्ताङ तथा कोरल्ला नाकाको चर्चा बढाएको छ ।