पर्वत– चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार शुरु गरेका हुन् ।


ADVERTISEMENT


वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोन्हुपकी म्यान्मी गुरुङले बताइन्। उनीहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथै सियो, धागो र जिम्बु, सिद्रालगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


चार महीना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम साताभित्र अन्नबाली थन्क्याएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको पर्वतको कुश्मामा आइपुगेकी उपल्लो मुस्ताङको छोसेरकी झ्याली गुरुङले बताइन् । उनका अनुसार लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाँडो छल्न तल झर्ने गरेका छन् । उनले कोरल्ला नाकाबाट भित्रिएका सामग्री र स्थानीय उत्पादनको व्यापार गरिरहेको बताइन् ।

अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनका अनुसार घरमा काम गर्न नसक्ने वृद्धवृद्धा मात्रै रहेका छन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गरेका छन् । “अधिकांश गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ”, प्रमुख शेरचनले भने, “अन्नबाली पनि नहुने भएपछि उनीहरुले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था रहेको छ ।” उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ ।

यो मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन रहेको छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोर्खा, तनहुँलगायत देशका अधिकांश जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको एक्यापका प्रमुख शेरचनको भनाइ छ ।

लोमन्थाङस्थित राष्ट्रिय निमावि पनि जाडोयाममा पोखरामा पढाइ सञ्चालन गर्नका लागि तयारीमा जुटिरहेको विद्यालयले जनाएको छ । यो विद्यालयमा प्रत्येक वर्ष मङ्सिरदेखि फागुनसम्म पोखरामा पढाइ सञ्चालन हुने गरेको स्थानीय शिक्षक विनोद पौडेलले बताए । उपल्लो मुस्ताङका अधिकांंश बासिन्दा कुनै न कुनै प्रकारको व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ झर्न थाल्छन् ।

व्यापार गर्न नहिच्किचाउने र सानोठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङेको विशेषता रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए ।