बागलुङ– गलकोट नगरपालिकाका तीन स्थानमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । गलकोट– ७ मल्म, राम्चेढुङ्गा–५ हरिचौरको सर्दाखेत तथा ४ नरेठाँटीको सेतीघडेरीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो ।


ADVERTISEMENT


गलकोट महोत्सवको अवसर पारेर प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । चालक दुर्योधन खड्का र निरञ्जन कुँवरले गलकोटको आकाशमा सफलतापूर्वक उडान भरेका थिए । प्याराग्लाइडिङमा चालक खड्काको १० वर्ष र कुँवरको ६ वर्षे अनुभव छ । उडानअघि धावनमार्ग र अवतरणस्थलको सम्भाव्यता अध्ययन गरिएको थियो । परीक्षण उडानका क्रममा मल्मको राम्चेढुङ्गा उत्तम पाइएको चालक खड्काले बताए । “तीनै ठाउँको सम्भावना राम्रो छ,” उनले भने । भौगोलिक अवस्था, उचाइ, हावाको गतिलगायत कारणले उडान सहज बनेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


राम्चेढुङ्गा समुन्द्री सतहदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको छ । आवश्यक पूर्वाधार विकास गर्न सकेमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ शुरु गर्न सकिन्छ । प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित परीक्षण उडान गरिएको वडा नं ७ का अध्यक्ष टीकाबहादुर थापाले बताए । “थप अध्ययन र पूर्वाधार विकास गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने योजना छ,” उनले भने ।

सम्भाव्यता अध्ययन र परीक्षण उडानको व्यवस्थापन वडा कार्यालय र राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले गरेको हो । राम्चेढुङ्गालाई पर्यटकीयस्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । चालकले करीब १३ मिनेटको उडानपछि गलकोट नगरपालिका–७ बाँस्खोलामा अवतरण गरेका थिए । पहिलो पटक गलकोटमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएपछि स्थानीयवासी हर्षित छन् । चालकसँगै उडेका गायक दुर्गेश थापाले उडान रोमाञ्चक बनेको प्रतिक्रिया दिए । “रमणीय दृश्य हेर्दे आफ्नै गाउँको आकाशमा उड्न पाउँदा आनन्दको अनुभूति भयो”, उनले भने । उचित पूर्वाधारविनै गरिएको उडान सफल भएपछि स्थानीय व्यवस्थापक पनि खुशी छन् ।

चालकले प्राकृतिक रूपमै बनेको धावनमार्गबाट उडान भरेका थिए । गलकोट प्याराग्लाइडिङ गन्तव्यको रुपमा पहिचान भएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए । उनकै पहलमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन अघि बढेको थियो । पहिलो उडान वडा नं ५ को सर्दाखेतबाट गरिएको थियो । रासस