काठमाडौं – ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेशविरुद्ध मैदान उत्रिँदैछ । समूह सी अन्तर्गत यसअघि म्यानमार र भारतलाई बराबरीमा रोकेको नेपाल समूहको अन्तिम खेलमा बंगलादेशबिरुद्ध मैदान उत्रिन लागेको हो । थुवुना रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


दोस्रो चरण नजिक रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै यात्रा सुखद् बनाउने रणनितीमा छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश भने पहिलो जितको खोजीमा छ । यसअघिका खेलमा निकालेको सफलताले नेपाली टोली उच्च मनोबलमा छ भने बंगलादेश तुलनात्मक रुपमा कमजोर देखिएको छ । कमजोर मनोबलको फाइदा उठाउने लक्ष्यमा रहेको नेपालले आक्रामक खेल्ने प्रशिक्षक हरि खड्काले बताएका छन् । बंगलादेश भारतसँग ७–१ र म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


नेपालले बलिया प्रतिद्वन्दी मानिएका म्यानमार र भारतसँग १–१ को बराबरी खेलेको थियो । समूह सी मा म्यानमार र भारत समान चार अंकका साथ शीर्ष दुई स्थानमा छन् ।

दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । बंगलादेशलाई पराजित गर्न सके नेपाल शीर्ष दुईमा रहेर छनोट हुनेछ । अप्रिलमा हुने दोस्रो चरणको प्रतिस्पर्धामा सबै ४ समूहका शीर्ष दुई गरी ८, तेस्रो हुनेमध्येका उत्कृष्ट दुई तथा भियतनाम र उज्वेकिस्तान गरी १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । भियतनाम र उज्वेकिस्तानले फिफा वरीयताका आधारमा दोस्रो चरणमा स्थान बनाएका हुन् ।