विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीप्रति धन्यवादज्ञापन गरेका छन्।


ADVERTISEMENT


मुख्यमन्त्रीको कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बैँकक गएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


बैंकक उपचारका क्रममा स्वास्थ्य जाँचको अन्तिम रिपोर्ट कात्तिक २६ गते आउने भएको हुनाले निजी एवम् पारिवारिक भेटघाटका लागि अमेरिका गएको जानकारी गराउँदै सो क्रममा अमेरिका न्यूयोर्कस्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासङ्घको संयुक्त आयोजनामा एक भेलामा सहभागी भई बाल्टिमोर, वाशिङटन डिसी, वफेल्लोलगायत केही ठाउँको भ्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफ्नो अमेरिका भ्रमणलाई केही पत्रपत्रिका एवम् मिडियाले विवाद सिर्जना गरी आफ्ना सहयोगी पारुहाङ राईको नाम जोडर कपोककल्पित भ्रमपूर्ण प्रचारबाजी गरेकामा त्यसको खण्डन गर्दछु भनी विज्ञप्तिमा जनाइएको छ ।

मुख्यमन्त्री राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपचारका क्रममा विदेश जानका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग नगरेको र विदेश जाने सम्बन्धमा सङ्घीय सरकारलाई समेत जानकारी गराएको उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तिमा उपचारको क्रममा छ महीनाको औषधि सेवनपछि आगामी २०७६ वैशाख ६ गते स्वास्थ्य जाँचका लागि पुनः बैंकक जानुपर्ने उल्लेख गरिएको छ ।