गोम बिक्रमका जबर्दस्त पाँच मुक्तक
मुक्तक-१
अलग होइन तिमीभन्दा, खाइने उस्तै मानो देख्छु
इलम ठूलो पनि होइन, गुजारा चल्ने तानो देख्छु
तिमी शिखर चढ्दै गयौ, झन्झन अझ बढ्दै गयौ
महल जत्ति ठूलो तिम्रो, मन त उत्ति सानो देख्छु ।
मुक्तक-२
जनताका कामका लागि, माथिका सधै चिसिइरहे
निर्धा बरा जनता सधै, उनकै लागि घिसिइरहे
मरिमेटेर पनि पुगेन, दयाको हाँगो नि नुगेन
नेताको ऐस आरामका लागि, जनता सधै पिसिइरहे ।
मुक्तक -३
मीठा आशमा भुलाएर, भेंडा बनाउने दिन आए
सपना बाँडी झुक्क्याएर, फूर्ति लाउने छिन पाए
यिनका पछि लाउनू किन ?, आफ्नो विवेक गुमाउनू किन ?
कर्तुतहरु सोचिहेर, कस्ता लाज र घीन पचाए ?
मुक्तक -४
श्रमले बाँच्ने जनताको, जीउमा कहिले घाम हुन्छ ?
सपना देखाई समृद्धिका, पर्खाइरहने काम हुन्छ
आफ्नै स्वार्थको भेला कस्ता, भित्र अनेक खेला कस्ता
चियापानको नाम मात्र, बजेट चै ‘तथानाम’ हुन्छ ।
मुक्तक -५
सत्ता पक्ष होस् या प्रतिपक्ष, चुपचाप अब घुर्न थाले
समृद्धि चाहने जनताले, धैर्यता साँधी कुर्न थाले
आश्वासन त कस्ता दिन्थे, के बित्छ र हतारिन्थे ?
देशमा के नै हुँदैन र, नेृतृत्व यस्तै जुर्न थाले ।
गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५/०८/०४