डोल्पा । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ ।


ADVERTISEMENT


उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आज आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गर्नुभएसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो । दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको छ ।

छिमेकी मुलुक चीन र भारतलाई मरिम्ला र रुपेडिया नाकाबीच सीधा सडक सम्पर्क जोड्न योगदान दिने सामरिक महत्वको उक्त राजमार्ग निर्माणले प्राकृतिक विविधताले भरिपूर्ण कर्णाली क्षेत्रको विकासमा कायपलट ल्याउने विश्वास गरिएको छ । जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी ‘फिडर रोड’को अवधारणानुरुप निर्माण भएको सडक निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

उक्त सडक निर्माणसँगै त्यस क्षेत्रमा उत्पादन हुने बहुमूल्य जडीबुटीलगायत चिजवस्तु बिक्रीवितरणका लागि आवश्यक बजार पाउने हुँदा स्थानीयवासीको जीवनस्तर सुधार ल्याउन योगदान पुग्नेछ । केही समयपछि नै उक्त सडक नेपाली सेनाले सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम राखेकामा स्थानीय जनताले उपप्रधानमन्त्री पोखरेलसमक्ष सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिन आग्रह गरे ।

रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्देजस्ता बस्ती हँुदै भेरी नदीको तीरैतीर दर्जनाँै अक्कर र भीर पहरा छिचोलेर उक्त सडक दुनै पुगेको छ । डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताल र त्यस क्षेत्रको राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ ।

उक्त सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले जाजरकोट– दुनै सडक निर्माणले सुनको शिरानी हालेर नूनको खोजीमा हिँड्ने कर्णालीवासी अब विकटका बासिन्दा हुन नसक्ने बताए। उनले भने, “डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्, यो विकट ठाउँ सुगम बन्नेछ, यहाँका जनतालाई सम्पन्न गराउने ढङ्गबाट सरकारले काम गर्नेछ, असुरक्षित बस्तीलाई व्यवस्थित र सुरक्षित तुल्याउनेछ ।

प्रदेश सरकारसँगको सहकार्यमा जाजरकोट– दुनै सडकको स्तर उन्नति, बेलिब्रिजको जडान र कालोपत्रे गर्न कार्य सङ्घीय सरकारले पूरा गर्ने डोल्पावासीलाई विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिका लागि पहिलो शर्त सडक यातायात हो भन्ने पक्षलाई सरकारले प्राथमिकतामा राखेको छ भने।

सो अवसरमा प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्राकृतिक स्रोतसाधनको हिसाबले डोल्पा अथाह सम्भावना बोकेको स्वर्ग भएको हुँदा सो सडक निर्माणपछि डोल्पाको विकट र गरीबीको परिचय बदलिने आशा व्यक्त गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको निर्देशनानुरुप भरखरै मार्ग खोलिएकाले सोको स्तरोन्नति गर्न नेपाली सेना तयार रहेको बताउनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले जाजरकोट– दुनै सडकका विभिन्न स्थानमा बेलिब्रिज जडान, सडकको स्तरवृद्धि र कालोपत्र गर्ने कार्य गर्न सङ्घीय सरकारसँग माग गरे।

यसअघि सोही नगरपालिका–६ चिम्लेभीरमा आयोजित कार्यक्रममा सडक निर्माण आयोजना कार्यदलका प्रमुख सेनानी पहाडीले सडक निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही स्थानमा उपप्रधानमन्त्री पोखरेलले भे १ च २६५५ नम्बरको जीपलाई उक्त सडकमा सञ्चालन गर्न अनुमति प्रदान गरी जाजरकोट– दुवै सडक राष्ट्रिय सडक सञ्जालमा समेटिएको घोषणा गरेका थिए ।