धनुषा ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् ।


ADVERTISEMENT


मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आइतबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले अहिले तत्काल रेल्वेको उद्घाटन हुने कुनै किसिमको कार्यक्रम तय नभएको बताए।


ADVERTISEMENT

# # #


जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे ।

मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विशुद्ध धार्मिक भ्रमणमात्र हुने बताउँदै यही मङ्सिर २६ गते रेल्वेको उद्घाटनको कार्यक्रम नभएको प्रस्ट पारे। उनले भने, “रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसका लागि मूल्य पनि पठाइसकेको छ, भारतले पठाएको मूल्य सरकारले स्वीकार गरेर पत्राचारसमेत गरिसकेको छ ।”

मन्त्री महासेठले आगामी महीनाभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–विजलपुरा हुँदै बर्दिवाससम्म रेल सञ्चालन हुने बताए। मन्त्री महासेठले आउने चार वर्षमा दुई हजार ८०० किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र एक हजार २०० किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताए।