“मृतअात्माको बयान”


ADVERTISEMENT


म प……र
दैत्यहरूको राज्य नजिकै
यमलोक बाट फर्कि अाएकि मृत नारी हूँ महोदय ।
अदालतको चौकोशमा सुरक्षा गरिरहेका
मैसासुर महापुरुषहरूको नजरबाट बिलाउँदै बिलाउँदै
यो न्यायालयको वकालतकक्षमा
बयान दिन अाईपुगेकी छु महोदय ।


ADVERTISEMENT

# # #


हेर्नुस् महोदय,
म तपाईंको बयानकक्षमा बिना बस्त्र हाजिर भएकी छु
हेर्नुस् मेरा शरीरका हरेक अंगहरू
अनुमान लगाउनुहोस् मेरो शरीरको मोटाई, गोलाई र उचाइ
अब चिन्नुभयो मलाई ?
म तपाईंकै राज्य, तपाईंकै शहरकी चेली हूँ महोदय ,
बर्षौँ अगाडि तपाईं जस्तै पुरुषले नङ्ग्याए पछि
म यमलोकमा बसाइँ सरेकी थिएँ ।

महोदय,
भर्खरै मुना पलाउँदै गरेका मेरा छातीका स्तनहरू
कहिलै नमर्नेगरि दुबो टुसा पलाउँदै गरेको मेरो योनाङ्ग
तपाईं जस्तै महापुरुषको नजरमा जवान देखिएपछि
मेरो ईच्छा र रहर बिपरित खेलौना बनाईएको थियो महोदय ।

महोदय,
तपाईंको टेवल अगाडि ठडिएको पानीको बोतलमा
मेरो कुमारीत्व लुटिँदा बगेका मेरा अाँसुहरू भरिएका छन्
तपाईंले देखेका नदीहरूमा
मेरो कुमारीत्व लुटिएको पल मेरो यौनीबाट बगेका
रगतका छिट्टाहरू छन्
सम्झनुस् त महोदय म कति तड्पिएँ होला त्यो क्षण ?

महोदय,
तपाईंको न्यायालय भित्र केही थान न्यायदाताहरू
खुलेअाम न्यायको उपहास गरिरहेका छन्
बलात्कृत म र म जस्ता नारीहरूको बिरुद्ध
ठू…ला ठूला फैसला गरिरहेका छन् ।
सफाइ दिईरहेका छन् बलात्कारी महापुरुषहरूलाई
राजनैतिक अास्था बाहिर न्यायको कालो कोट धारण गरेर ।

महोदय,
म यहाँ न्याय माग्न हाजिर भएकी मृतअात्मा हैन
म मेरो देशमा न्यायालय छैन भन्नेहरूका लागि
जवाफ दिन हाजिर भएकी हूँ महोदय
मेरो देशमा न्यायालय नभएको भए
कसले सुनायो त बलात्कारी उन्मुक्तिको फैसला
न्यायालयको ढोका भित्र ?

महोदय,
मेरो देशमा सरकार छैन भन्नेहरूलाई
म यसै न्यायालय बाट जवाफ गर्न चाहन्छु
सरकार नभएको भए कसले गर्यो त
हजारौँ बलात्कारीहरूको संरक्षण
यही मेरो देश भित्र ?

महोदय,
मलाई कत्ति पनि गुनासो छैन
अाफु बलात्कृत अात्मा हुनुमा
मलाई गुनासो छ त केवल म पछि कयौँ नारीहरू
बलात्कृत हुनुमा ।
मलाई कुनै घृणा छैन मेरो बलात्कारमा सरिक महापुरुषहरूमा
मलाई घृणा छ त केवल मेरो बलात्कार पछि जन्मिएका
सयौँ बलात्कारीहरू प्रति ।

महोदय,
तपाईं अब बजाउन सक्नुहुन्छ तपाईं अगाडिको साईरन
दबाउन सक्नुहुन्छ मेरा अावाजहरूलाई
उनमुक्ति दिन सक्नुहुनेछ सयौँ नरपिसाज बलात्कारीहरू लाई
जुन दिनसम्म तपाईंकि छोरी बलात्कृत हुनेछैन ।
सफाइ दिन सक्नुहुनेछ सयौँ मुद्दाहरूमा
जुन दिनसम्म तपाईंकि बहिनी बलात्कृत हुनेछैन ।

हो महोदय,
म फेरि जिवित मान्छे बन्न मिल्ने भए
बन्नेथिएँ फेरि उस्तै सुन्दर कन्या
बन्नेथिए शक्तिशाली काली कन्या
र म,
त्यो दिन मात्र मृतअात्मा बन्नेथिएँ
जुन दिन मेरो देशका बलात्कारीहरू बिरुद्ध
सुनाईने छ यही न्यायालय बाट
मृत्युदण्डको अन्तिम फैसला …।

-निश्चल अाँसु घायल
कानेपोखरी गाँउपालिका -१,
मोरङ