विराटनगर– गृहमन्त्री जनार्दन शर्माले आज विराटनगरमा प्रदेश नं १को क्षेत्रीय सुरक्षा गोष्ठीको एक समारोहबीच उद्घाटन गरे ।


ADVERTISEMENT


स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरुले एकअर्कासँग जानकारी लिने र आवश्यक रणनीति बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको उपस्थिति रहेको छ ।


ADVERTISEMENT

# # #


यसका साथै, प्रदेश नं १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारीको पनि सहभागिता रहेको छ ।

सो अवसरमा गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको रहेको बताए ।

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै उनले अब मुलुकमा सङ्घीय प्रशासनिक ढाँचा निर्माण गर्नुपर्ने र विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी गराए ।

स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार स्थापित हुने, राजनीतिक समस्याको समाधान हुने र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुने विश्वास प्रकट गरे।

दोस्रो चरणको निर्वाचनका लागि प्रायः सबै दल निर्वाचनमा सहभागी भएको भन्दै गृहमन्त्री शर्माले राजपा र विप्लव समूहले स्वतन्त्र रुपमै केही ठाउँमै भए पनि निर्वाचनमा सहभागी भएको उल्लेख गरे ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेले गोष्ठीको उद्देश्यबारे प्रकाश पारेका थिए । रासस