काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गरेको छ । लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा समूह बी मा रहेको बार्सिलोनाले पिएसभी एन्थोवेनलाई २–१ ले हराउँदै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्ने निश्चित गरेको हो ।


ADVERTISEMENT


समूह चरणको एक खेल बाँकी हुँदै उसले समूह विजेता बन्ने निश्चित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । उसका लागि ६१ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अग्रता दिलाए । ७० औँ मिनेटमा जेरार्ड पिकेले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।


ADVERTISEMENT

# # #


पिएसभीका लागि ८२ औँ मिनेटमा लूक डी जोङ्गले एक गोल फर्काए । पिएसभीले खेलमा गोल गर्ने धेरै राम्रा मौका गुमायो । समूह विजेता बन्ने पक्का भएको बार्सिलोनाको पाँच खेलबाट १३ अंक भएको छ ।

समूह बी अन्तर्गतकै खेलमा टोटनह्यामले इन्टर मिलानलाई हराउँदै अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब टोटनह्यामले इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराएको हो ।

टोटनह्यामका लागि थप खेलाडीको रुपमा मैदान छिरेका क्रिष्टियन एरिक्सनले ८० औँ मिनेटमा विजयी गोल गरे । यो गोलले टोटनह्यामलाई समूहको दोस्रो स्थानमा लग्यो । इन्टर मिलान तेस्रो स्थानमा झरेको छ ।

समूहको एक खेल बाँकी हुँदा टोटनह्याम र इन्टर मिलान दुवैको सम्भावना जीवित रहेको छ ।

टोटनह्यामले समूह चरणको अन्तिम खेलमा बार्सिलोना तथा इन्टर मिलानले पिएसभीसँग प्रतिस्पर्धा गर्नेछ । टोटनह्याम र इन्टर मिलान दुवैको समान सात अंक छ ।