काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुनसेन र म्यान्मारका स्टेट काउन्सिलर एव‍ं विदेशमन्त्री आङ साङ सुकी बिहीबार नेपाल आउँदैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनीहरू नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


ADVERTISEMENT


युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिट २०१८ मा समेत सहभागी हुनेगरी सद्भावना भ्रमणका लागि नेपाल सरकारको निमन्त्रणमा कम्बोडिया प्रधानमन्त्री सेन र म्यानमारकी नेतृ सुकी नेपाल आउन लागेका हुन्। म्यान्मारकी नेतृ सुकी बिहान ११ बजे र कम्बोडियाका प्रधानमन्त्री सेन बिहान ११ बजेर ४० मिनेट जाँदा काठमाडौंआइपुग्ने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए।


ADVERTISEMENT

# # #


विशिष्ट व्यक्तिको आगमन हुने भएपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ।
पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सेनले आजै बेलुकी भेटवार्ता गर्ने तय भएको छ। दुवैको सम्मानमा प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको छ।

नेतृ सुकीले आजै बिहान ११ बजेर ३० मिनेटमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग होटल सोल्टीमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै कम्बोडियाका प्रधामन्त्री हुन सेनसँग दिउँसो ३:३० बजे होटल द्वारिकाजमा भेटवार्ता गर्नेछन्।