चिप्लेढुङ्गा– पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ ।


ADVERTISEMENT


लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएका हुन् । वडाको शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थालाई पहिलो सेनिटरी प्याडयुक्त घोषणा गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रवक्ता नेपालीले रजस्वला, किशोरीको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले महानगरले अब सबै वडामा सेनिटरी प्याडयुक्त शैक्षिक संस्था बनाउन पहल गर्ने बताए । उनले भने, “यो देख्दा सानो होला यद्यपि यसले किशोरीको स्वास्थ्य र मनोविज्ञानमा ठूलो असर पारेको छ, किशोरीको पढाइमा समेत असर पु¥याउने संवेदनशील विषय भएकाले सेनिटरी प्याड व्यवस्थापनमा महानगरले ध्यान दिनेछ ।” उनले वडाले ३० हजार रकम विनियोजित गरी वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थाका स्नानगृह र शौचालयमा सेनिटरी प्याड बक्स राखिने बताए ।

सामाजिक अभियन्ता सुष्मा पौडेलले महानगरलाई निःशुल्क रुपमा शौचालयमा प्याड व्यवस्थापन गर्न अनुरोध गरेका थिए । उनले सफा शौचालय तथा स्वच्छ खानेपानीको व्यवस्थापनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए।

वडा नं ५ का सदस्य एवं सामाजिक अभियन्ता अञ्जु केसीले वडा नं ५ सेनिटरी प्याडयुक्त गर्ने पहिलो वडा भएको बताए । उनले सबै वडामा स्वास्थ्य र सरसफाइको अभियान चलाएर किशोरीलाई प्रजनन स्वास्थ्यको बारेमा सुसूचित गराउने बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीले अबदेखि वडा नं ५ का सम्पूर्ण विद्यालय सेनिटरी प्याडयुक्त घोषणा भएकोले त्यसलाई व्यवहारमा उतार्न प्रतिबद्ध भएको जनाए ।