काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध धर्म परिवर्तन गर्न उक्साएको आरोप लगाउँदै अधिवक्ता भूपेन्द्र प्रसाद पोखरेल प्रहरीसमक्ष जाहेरी दर्खास्त दिन पुगेका छन्।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीसहित आयोजक युनिभर्सल पिस फेडेरेशन (यूपीएएफ) का अध्यक्ष एकनाथ ढकालविरुद्ध धर्म परिवर्तनको उद्योग कसुरअन्तर्गत कारबाहीको माग गर्दै जाहेरी दिन उनी काठमाडौं प्रहरी परिसर टेकु पुगेका हुन्। तर परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जाहेरी लिन अस्वीकार गरेका छन्।


ADVERTISEMENT

# # #


शनिबार सकिएको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीले नेपाली जनतालाई क्रिस्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि गरेको उनले आफ्नो जाहेरीमा उल्लेख गरेका छन्।

अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरीत धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भइ विवादित संस्था यूपीएफको अवार्ड वा उपहार, तकमा दिने कार्य संविधानको धारा २७७ विपरीत भएको उनले जाहेरीमा दाबी गरेका छन्।

‘राजनीतिक आवरणमा धार्मिक गतिविधिका लागि आयोजना भएको समिटमा झण्डै १५ सय जोडीलाई क्रिश्चियन धर्ममाताबाट आशिर्वाद दिलाई जिससकी छोरी भनेर चिनाउने हाक जा हान मुनबाट आशिर्वाद लिने/दिने कार्यमा प्रधानमन्त्री ओली नै सरिक भइ धर्म परिवर्तनका लागि मतियार बनेकाले नेपालको संविधान तथा अपराध संहिता ऐन २०७४ को विपरीत कार्य भएकाले कारबाही हुनुपर्ने’ उनले जाहेरीमा भनेका छन्।

आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायातमा क्रिस्चियन सम्मेलन गरेर जनतालाई क्रिस्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने कार्य गरेको उनले आरोप लगाएका छन्। ‘नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवादसमेत लिने काम भएको छ’ उनले जाहेरीमा भनेका छन्।

प्रमाणको रूपमा प्रधानमन्त्री, अन्य मन्त्री, जनप्रतिनिधिलगायतले दिएको सन्देश, विभिन्न पत्रपत्रिका, मिडिया रेकर्ड रहेको जोहरीमा उल्लेख गरेका छन् भने उनले उक्त घटनाको आवश्यक छानबिनका गर्न मागसमेत गरेका थिए। तर प्रहरीले उनको जाहेरी अस्वीकृत गरेपछि उनी त्यसै फर्किनु परेको छ।