काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ।


ADVERTISEMENT


निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो।


ADVERTISEMENT

# # #


‘एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू भन्ने सरकारको निर्देशन थियो । तर, त्यही दिन प्रदर्शनमा आएको समूहका १२ जनालाई नियन्त्रणमा लिएका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले भने, ‘यहीबीचमा एक प्रहरीले पोस्टर पनि च्यातिदिएछन् । हामी घटनाको छानबिन गरी निर्मलाको पोस्टर च्यात्ने प्रहरीलाई कारबाही गर्छौँ । निर्मलाको पोस्टर च्यात्न प्रहरीलाई कुनै निर्देशन छैन ।’

उनले पोस्टर च्यात्ने प्रहरी को हो भनेर छानबिन भइरहेको, तर पहिचान हुन नसकेको बताए ।

आफैले खटाएका प्रहरीको तस्बिर सार्वजनिक हुँदा पनि पहिचान गर्न नसक्ने प्रहरीबाट बलात्कार र हत्याजस्तो जघन्य अपराधका दोषी पत्ता लाग्लान् भनेर आशा कसरी गर्ने? प्रश्न यो पनि छ । त्यस्तै, एकजना प्रहरीले आपूmखुसी पोस्टर च्यातेको भनिए पनि पोस्टर च्यात्दै गरेका प्रहरीको फोटो देशका विभिन्न ठाउँबाट आउन थालेका छन् ।

पोखरामा पोस्टर च्यात्ने डिएसपी भन्छन्, ‘सुरक्षा समितिको निर्देशनमै च्यातेका हौँ’

पोखरामा त बैदामका डिएसपी नवीन कार्कीले पोस्टर च्यातेर कच्याककुचुक पारेको तस्बिर प्राप्त भएको छ। कार्कीलाई ‘पोस्टरबाट शान्तिसुरक्षामा के असर पर्यो ?’ भनेर सोध्दा उनले भने, ‘मैले आफूखुसी पोस्टर च्यातेको होइन, त्यही दिन जिल्ला सुरक्षा समितिको बैठक थियो । बैठकले दिएको निर्देशन कार्यान्वयन गरेको हुँ । योभन्दा बढी म बोल्न चाहन्नँ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले पनि सकेसम्म पोस्टर टाँस्न नदिन निर्देशन दिएको स्विकारे ।

‘हामीले पोस्टर टाँस्न नदिन भनेका थियौँ, तर सिपाहीले उल्टो बुझेछन् । टाँसिसकेपछि च्यातिदिएछन्,’ उनले भने । तर, रानाले भनेजस्तै सिपाही मात्रै होइन, डिएसपी नै पोस्टर च्यात्न खटिएका थिए ।

त्यसमाथि विरोध गर्न, नारा लगाउन र पोस्टर टाँस्न पाउनु जनताको लोकतान्त्रिक र संवैधानिक अधिकार हो । गृहका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘विरोध गर्न र पोस्टर टाँस्न कानुनले नै अधिकार दिएको छ, त्यसलाई निषेध गर्ने कुनै नीति छैन ।’

सरकारले निकै महत्व दिएको एसिया प्यासिफिक समिट सकिएको छ । पाहुना पनि आफ्ना घर फर्किएका छन् । तर, समिटसँग कुनै सम्बन्ध नरहेको दाङमा प्रहरीले पोस्टर टाँस्ने युवामाथि बल प्रयोग गरेको छ।

मंगलबार घोराहीको तुलसीपुर चोकमा जम्मा भएका युवाहरूले निर्मलाको तस्बिरअंकित पोस्टर टाँस्न खोजेका थिए । तर, प्रहरीले सीधै हस्तक्षेप गरेपछि धेरैबेर तनाव भएको थियो ।

आक्रोशित युवाहरूले गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग्दै नाराबाजी गरेका थिए । घन्टौँको नाराबाजीपछि युवाहरूले पोस्टर टाँस्न प्रयास गरेका थिए ।

तर, हुत्तिँदै आएका प्रहरीले पोस्टर टाँस्न अवरोध गरेका थिए । टाँसिएका पोस्टर पनि च्यातेर फालिएका थिए ।

यसरी पोस्टरविरुद्ध प्रहरी देशव्यापी रूपमा कारबाहीमा उत्रिए पनि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य भएको छैन । निर्मलाको न्यायका लागि लागिरहेका अभियन्ता तथा सर्वसाधारणले सरकारलाई दबाब दिन सवारीसाधन तथा झोलामा निर्मलाको पोस्टर टाँस्ने अभियान सुरु गरेका छन् ।

उनीहरूले सोमबार राजधानीमा सार्वजनिक यातायातका साधनमा पोस्टर टाँसे । निजी सवारीसाधन तथा झोलामा समेत निर्मलाको पोस्टर टाँसेर न्यायका लागि दबाब बढाएका छन् । पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’, ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’ (ढिलो न्याय दिनू, न्याय नदिनु हो) जस्ता नारा लेखिएका छन् ।

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।

घटनामा सुरुदेखि पीडितलाई असहयोग गर्नुका साथै कतिपय प्रमाणसमेत नष्ट गरेपछि प्रहरी विवादमा तानिएको थियो । छानबिनका लागि अनेक समिति गठन हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । त्यसैले, सरकारलाई दबाब दिन आन्दोलन जारी छ।