काठमाडौं । विवादास्पद एसिया प्यासिफिक समिटमा सरकारलाई प्रयोग गर्न आयोजक युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) र त्यसको मातृसंस्था युनिफिकेसन चर्च वर्षौंदेखि सक्रिय पाइएको छ।


ADVERTISEMENT


राष्ट्रपति, सबै दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्च ओहदाका सरकारी अधिकारीलाई यूपीएफले विदेश घुमाउनुका साथै सम्मान र पुरस्कारका नाममा पैसा दिएर प्रभावमा पार्दै आएको देखिन्छ।


ADVERTISEMENT

# # #


कोरियाका इसाई धर्मगुरु सन म्युङ मुनले सन् २००५ मा स्थापना गरेको यूपीएफको नेपाल शाखाले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ४ हजारभन्दा बढीलाई ‘शान्तिदूत’ भन्दै सम्मान गरिसकेको छ ।
यूपीएफ नेपालले सानाठूला सबै दलका नेतालाई सम्मान गर्ने र विदेश घुमाउने काम गर्‍यो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई यो संस्थाले सबैभन्दा बढी विदेश घुमाएको देखिन्छ । उनी युरोप र अमेरिका मात्रै होइन, उत्तर कोरियासमेत जान भ्याए । यसरी घुमाउन लगेबापत नेपालसँग यूपीएफ नेपालका अध्यक्ष एकनाथ ढकाल ज्यादै नजिकको सम्बन्ध बनाउन सफल भए।

यही सम्बन्धलाई प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीसँग नजिक हुन पुगे । ओलीमार्फत राज्यका सबै निकायलाई उनले प्रयोग गर्ने आँट गरे।

ढकालले ओलीको पत्र लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीदेखि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसम्मलाई समिटमा आउन निम्तो दिए । निम्तो दिन जाँदा धेरै देशमा उनले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईलाई पनि साथै लगे।

त्यसक्रममा फेसबुकमा पोस्ट गरिएका कतिपय तस्बिरको विरोध भएपछि अहिले उनले हटाएका छन् । यूपीएफको नेपालमा रहेको नक्सालस्थित कार्यालय गोप्य ढंगले चल्दै आएको छ, जहाँ संस्थाको बोर्डसमेत छैन । प्रस्ट रूपमा चिनाउनुपर्ने कानुनी प्रावधान संस्थाले उल्लंघन गरेको छ।

ढोकाछेउ सानो अक्षरमा ‘युनिफिकेसनिजम’ लेखिएको घरमा नेताहरू यूपीएफ कार्यालय भनेर धेरै पटक गएका छन्, जसलाई एकनाथ ढकाल र उनको टिमले ‘पिस एम्बेसी’ भनेर चिनाउँदै आएको छ।

भवनभित्र जोकसैलाई पस्न अहिले कडिकडाउ गरिएको छ । कान्तिपुरकर्मी बुधबार पुग्दा बाहिरबाटै फर्काइयो । ‘यहाँ यसरी सोधखोज गर्दै पस्न मनाही छ,’ एक महिलाले भनिन्, ‘एक सातापछि फोन गरेर आउनु होला।’

‘सामाजिक कामका लागि भनेर खोलिएको सार्वजनिक उद्देश्यको संस्थामा मिडियालाई रोकतोक किन ?’ भन्ने जिज्ञासामा उनले ‘एकनाथ सरलाई सोध्नु होला’ भन्ने जवाफ दिइन् ।

यूपीएफको कार्यालय भनिए पनि भवनभित्र युनिफिकेसन चर्च रहेको र इसाई धर्ममा मानिसलाई बदल्न विभिन्न रणनीति बनाइने गरेको संस्थासँग नजिकका केही व्यक्तिले जानकारी दिए ।

गत अक्टोबरमा रसियामा भएको आईक्यापको १०औं साधारणसभामा सम्मेलन नेपालमा गर्नेबारे कुनै निर्णयसमेत भएको थिएन । भेनेसियाले गत जुलाईमै नेपाल आएर नेताहरूलाई भेटी एसिया प्यासिफिक समिटका लागि मनाउने काम गरेको परराष्ट्रका एक अधिकारीले बताए ।

त्यसक्रममा भारतीय जनता पार्टीका नेता विजय जोली र यूपीएफका वर्तमान अध्यक्ष थोमस वाल्स पनि आएका थिए ।