प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भनिएको छ । महाअधिवेशन नजिकिँदै गर्दा नेविसंघकी सह-महामन्त्री अम्बिका चलाउनेले अध्यक्षमा दाबी गरिरहेकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी उप प्रमुखसमेत रहेकी उनले महाधिवेशनमा कस्तो तयारी गरिरहेकी छन् ? चुनावी एजेण्डा र भावी कार्ययोजना के हुन् ? लगायतका विषयमा उनै अम्बिकासंग हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


तपाईलाई जनताले प्रतिनिधि बनाएर पठाएका छन् । व्यस्तता कस्तो छ अहिले ?


ADVERTISEMENT

# # #


निर्वाचित प्रतिनिधि भएकाले स्वभाविकले नगरपालिकाको काम कारबाहीमा पनि लागिरहेकी छु । यतातिर नेपाल विद्यार्थीसंघको सह–महानम्त्रीसमेत भएको कारणले नजिकिँदै गरेको नेविसंघको महाधिवेशनको काममा पनि व्यस्त नै छु । अहिले संगठनतिर बढी ध्यान दिएकी छु ।

उसो भए व्यक्तिगत रुपमा नेविसंघको महाधिवेशनको तयारी कहाँ पुगाउनु भयो ?

११ औँ महाधिवेशनको विधान नेविसंघमा ३२ वर्षे उमेरहद लगाएर १२ महाधिवेशन गराउने भन्ने कुरालाई पार्टीको कन्द्रीय समितिको बैठकले निर्णयार्थ पेश गरिरिसकेको छ । वर्तमान कमिटीको सह-महामन्त्रीको हैसियतले र त्यो ३२ वर्षमुनिको उमेर भएका कारणले पनि अब आउने १२ महाधिवेशनमा अध्यक्षकै प्रत्यासीका रुपमा आफूलाई अगाडि बढाइराखेको छु ।

यो महाधिवेशनमा म यस कारण अध्यक्षमा लड्छु भन्ने कुरालाई सर्पोट गर्ने तपाईसंग आधारहरु के के छन् ?

पहिलो कारण त म संगठनमा स्कुल लेभलबाट नै राजनीति गरेर आएकी हुँ । दुर्गममा कलेजको राजनीति गरेर स्ववियु सभापति भएर, इकाइ अध्यक्ष भएर, जिल्लामा पदाधिकारी भएर केन्द्रीय समितिमा निर्वाचनका माध्यामबाट सह-महामन्त्री भएको मान्छे हुँ । अहिले जति साथीहरु प्रत्यासी हुनुहुन्छ, उहाँहरुको भन्दा मेरो बायोडाटा संगठनमा  माथि छ । नेपाल विद्यार्थी संगठनलाई सांगठनिक रुपमा, शैक्षिक एजेण्डाका रुपमा र रुपान्तरणका हिसाबमा युवा गर्वलाई उत्पादनसंग जोड्नुपर्छ र शिक्षामा बढीभन्दा बढी राज्यको लगानी हुनुपर्छ तब राष्ट्र समृद्ध हुन्छ भन्ने मेरो ध्येय छ । त्यसैले नेपाल विद्यार्थी संगठनलाई आधार बनाएर युवाहरुलाई लोकतान्त्रिक समाजवादसंग जोड्ने मेरो प्रयत्न रहनेछ । त्यसैले नेविसंघको अध्यक्ष दाबी गरिरहेकी छु ।

तर अध्यक्षको प्रतिस्पर्धा त निकै कठिन हुन्छ । यसलाई कसरी हेर्नु भएको छ ?

स्वभाविकैले जुनसुकै प्रतिस्पर्धा कठिन हुन्छ । नेपाल विद्यार्थी संगठन कांग्रेसको एउटा यस्तो भातृसंस्था हो जसको नेतृत्व पार्टी सभापति पनि यसको अध्यक्ष भइसक्नु भएको छ । जो मुलुकको चारपटक प्रधानमन्त्री भइसक्नु भयो । विपीन कोइरालादेखि नैनसिंह महरसम्म आइपुग्दा नेविसंघका पूर्व अध्यक्षहरुले कांग्रेस पार्टीलाई नेतृत्व गर्नुहुन्छ । त्यसैले यसलाई सहजताका रुपमा लिएर सजिलै नेपाल विद्यार्थी संगठनको अध्यक्ष बन्न सकिन्छ भन्ने छैन । तर म अहिलेका उम्मेदवारमध्ये अब्बल उम्मेदवार हुँ । म के कुरामा विश्वस्त छु भने राज्यको पहुँचभन्दा बाहिर रहेका कदमजम (कर्णाली, दलित, महिला, जनजाती र मधेशी) लाई संगै लिएर राज्यको प्रमुख धारमा उभ्याउनुपर्छ भनेर अभियान सुरु गरेको व्यक्ति अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । त्यसैले म एउटा महिला हुँ । नेपाल विद्यार्थी संगठनको इतिहास बनाउने अवस्था अहिले छ । हाम्रा अन्य समकक्षी संगठनको नेतृत्वमा महिला आइसके भने अहिले यो अवसर हामीलाई प्राप्त भएको छ ।

महिला भएकैले अध्यक्षको दाबेदार हुनुपर्छ भन्ने पनि त नहोला नि ?

महिला भएकाले मात्रै भन्दा पनि प्रतिस्पर्धीमा सबैभन्दा म अब्बल छु र त्यसमा म महिला हुँ । त्यस कारण अहिले मलाई पार्टीले नेविसंघको अध्यक्षको दाबेदारका रुपमा प्रस्ताव गर्छ भन्ने कुरामा म विश्वस्त छु । यी सबै कुरालाई आधार मानेर म अध्यक्षको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गरेकी छु ।

तपाई अहिले सह-महामन्त्री हुनुहुन्छ । त्यो भन्दा माथिका महामन्त्री, उपाध्यक्षहरु पनि नेतृत्वको लाइनमै छन् । तपाईलाई नै पार्टीले, कार्यकर्ता वा विद्यार्थीले कसरी विश्वास गर्ने ?

तपाईलाई मैँले सुरुमा पनि भनेँ, नेपाल विद्यार्थी संगठनमा ३२ वर्षको उमेरको हद लागू भएको छ । त्यसले गर्दा अहिलेको नेतृत्वमा पनि महामन्त्रीहरु, हिजोको जनआन्दोलनदेखि नेपाल विद्यार्थी संगठनलाई बलियो बनाउनमा एकदमै ठूलो लगानी गरेका दाई-दिदीहरु पनि हुनुहुन्छ । उमेरका कारण उहाँहरु दौडबाट बाहिरिनु पर्ने अवस्था सिर्जना भएको छ । उपाध्यक्ष र महामन्त्रीहरु धेरै जना बाहिरिँदै हुनुहुन्छ । त्यसमा बचेका केही उपाध्यक्ष र महामन्त्री, सह-महामन्त्रीहरुको पनि मलाई सहयोग छ । उहाँहरु मेरो पक्षमा लविङ गरिराख्नु भएको छ । यस कारण मैँले आफूलाई अगाडी सारेकी हुँ ।

तपाई एउटा स्थानीय तहको प्रतिनिधि हुनुहुन्छ । फेरि यता नेविसंघमा लड्ने कुरा गर्नुहुन्छ । थुप्रै आकांक्षी हुँदाहुँदै एउटै व्यक्तिलाई कति पद दिने भन्ने प्रश्न पनि त उठ्ला नि ?

तहको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री/हाम्रो सभापति, अहिले नेविसंघको विभाग हेर्ने तथा निर्वाचन कमिटीको संयोजक तथा पार्टीको सहमहामन्त्री प्रकाश शरण महत लगायत थुप्रै नेताहरुले तिमी अहिले निर्वाचन लड्नुपर्यो, पछि नेविसंघमा तिमीलाई कसैले अप्ठ्यारो पार्दैन भन्ने वचन दिएर म चुनाव लडेकी थिएँ । तपाईले जस्तै थुप्रैले यस्तो प्रश्न सोध्नुहुन्छ । आज नेविसंघको अध्यक्ष बन्नका लागि उपमेयरले रोक्छ भने मैँले राजीनामा लेखेर राखेको छु । मैँले मेयरलाई बुझाइसकेको छु । तर उहाँले स्वीकृत गर्नु भएको छैन । पार्टी सभापतिले पनि महासमितिको बैठकपछि म कुरा गर्छु भन्नु भएको छ । त्यसैले म विश्वस्त छु ।

उपमेयर पदले मलाई नेविसंघको अध्यक्ष बन्न रोक्दैन र रोक्नु पनि हुन्न । अर्को कुरापनि म तपाईँलाई भन्न चाहन्छु । अन्य संगठनका पदाधिकारीहरु पनि सांसद हुनुहुन्छ । हिजो अध्यक्ष रञ्जित कर्णलाई पार्टीले मनोनयन गरेर सांसद बनाएकै हो । तरुण दलको अध्यक्ष हुनुहुन्थ्यो, टिकट दिएकै हो । कि त यो कुरा नेविसंघको विधानमै लेखिदिऊँ । यो राष्ट्रपति, उपराष्ट्रपति, सभामुखजस्तो संवैधानिक पद पनि होइन । यस्ता कुराले मलाई रोक्ने प्रोपोगाण्डा निम्त्याउने मात्रै हो । त्यसकारण म उपमेयर छाड्न राजीनामा लेखेको छु । म अब नेविसंघ हाँक्न सक्छु र महिला भएकाले पनि त्यसले मलाई ‘प्लस प्वाइन्ट’ गर्छजस्तो लाग्छ ।

अध्यक्षमा म अरुभन्दा अब्बल छु भन्नुभयो । अहिलेको अवस्थामा तपाईका मुद्दाहरु के के छन् ? जितेपछि के गर्नुहुन्छ ?

हाम्रो जस्तो विकासन्मुख देश, त्यसमा पनि राजनीतिक तरलताले गुज्रकेको देशमा हिजो राणाहरुको विरुद्धमा लडियो, अहिले केपी ओलीको विरुद्धमा लड्नुपर्ने अवस्था सिर्जना भएको छ । कांग्रेसको नेतृत्वमा राजनीतिक रुपमा थुप्रै परिवर्तनहरु आए । शिक्षालाई गुणस्तरीय बनाउने कुरामा सबैभन्दा ठूलो लगानी शिक्षामा हुन जरुरी छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा शिक्षामा राज्यको लगानी अलि बढेको थियो । तर अहिले झनझन शिक्षामा लगानी घटिरहेको अवस्था छ । संघियताको अभ्यास गर्दै गर्दा शिक्षालाई हामीले तीन तहको साझा अधिकारको रुपमा राखेका छौँ । त्यसमध्ये माध्यामिक शिक्षाको रेखदेख र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष भइसक्दा पनि न शिक्षा ऐन बनेको छ न नियमावली । किनभने केन्द्र सरकारले अझैपनि एकिकृत गरिराखेको छ । शिक्षामा यहाँ थुप्रै समस्या छन् । सामुदायिक विद्यालयको समस्या हेर्नुहुन्छ भने झन जर्जर अवस्थामा छ । यी कुराहरुलाई माथि उकास्नका लागि नेपाल विद्यार्थी संगठनका माध्यामबाट ७५३ वटै स्थानीय तहमा कार्यक्रम ल्याउने र त्यसको व्यस्थापन गर्न अब हिजोको जस्तो ढुंगामुडा हानेर हुँदैन । यसमा हामीले कसरी अगाडी बढ्नुपर्छ भनेर मैँले एउटा योजना बनाएकी छु ।

यस्तै नेविसंघ साझा विद्यार्थी संगठनका रुपमा हिजो महंगी भएको अवस्थामा होस् वा कालोबजारीका विरुद्धमा उभिएको छ । त्यसको गर्विलो इतिहासलाई वर्तमान अवस्थामा एकदमै प्रेरणाका साथ अगाडि बढाउनका लागि मैले नेविसंघलाई अगाडि लिनसक्छु भन्ने विश्वास छ । योसंगै अहिले नेपालमा अर्को तानाशाह आएको हो कि ? नेपालमा अहिलेको सरकारले अर्को द्वन्द्व ल्याउँछ कि भन्ने त्रास भइरहेको छ । थुप्रै महिलाहरु हिंसामा परेका छन् । बलात्कारका शिकार भएका छन् । उनीहरुले न्याय पाएका छैनन् । तर प्रधानमन्त्रीले फोटो सडकका पोलमा राखेर आफ्नो प्रचार गरिरहेका छन् । धर्मको प्रचारमा सरकार करोडौँ रुपैयाँ खर्चिरहेको छ । त्यसैले यसका विरुद्धमा विद्यार्थी संगठनलाई उभ्याउनुपर्छ, युवाहरुलाई सचेत गराउनुपर्छ र लोकतन्त्रका पक्षमा जनमत निर्माण गर्नुपर्छ भन्ने खालका योजना हामीसंग छन् । आगामी दिनमा कांग्रेसका पक्षमा जनमत जुटाउन पनि मेरो भूमिका रहनेछ । त्यसैले म नेपाल विद्यार्थी संगठनको अध्यक्षको दाबी गरिरहेकी छु । म अध्यक्ष बनेँ भने नेविसंघलाई गुटको शिकार हुन दिन्नँ ।