काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा देशभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ ।


ADVERTISEMENT


साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको हो । प्रहरीका अनुसार चार महिनामा सात हजार २३७ दुर्घटना भएका थिए । उक्त दुर्घटनाबाट साउनमा १९२, भदौमा २०५, असोजमा २८५ र कात्तिकमा २९८ को ज्यान गएको छ । आव २०७४÷०७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ ले ज्यान गुमाएका थिए ।


ADVERTISEMENT

# # #


प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापर्वाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउँछन्। “चालकको लापर्वाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, यात्रुको गल्ती, एकापसमा उछिन्ने प्रवृत्ति, तीव्रगति, यान्त्रिक गडबडीका कारण बढी दुर्घटना हुने गरेको छ”, उनी थप्छन्।

सवारी दुर्घटनाबाट ६२२ पुरुष, १५७ महिला, ५३ बालक र ३३ बालिकाले ज्यान गुमाएका छन् । मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेका छन् । सोही अवधिमा दुर्घटनामा एक हजार ४८८ गम्भीर र तीन हजार ७२७ सामान्य घाइते भएका थिए । लामो समयदेखि मुलुकको यातायात क्षेत्रमा रहेर काम गर्नुभएका नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन्।

उहाँले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको बताउनुभयो । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउँछन्। “मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा २० देखि २५ प्रतिशतसम्म दुर्घटना हुने गरेको छ”, उनी भन्छन्। काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।

उपत्यकामा ८१ को मृत्यु
काठमाडौँ उपत्यकामा चार महीनाको अवधिमा ८१ को सवारी दुर्घटनामा ज्यान गएको छ । यसैगरी प्रदेश नं १ मा ९६, प्रदेश नं २ मा १६९, प्रदेश नं ३ मा १७३, गण्डकी प्रदेशमा ७७, प्रदेश नं ५ मा १७४, कर्णाली प्रदेशमा ५० र सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट ४४ ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन्। “लापर्वाही र चालकले ट्राफिक जानकारीबारे ध्यान नदिँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनी भन्छन्।

दुर्घटना घटाउन आरामस्थल निर्माण
चालकको लापर्वाहीका कारण दुर्घटना बढ्न थालेपछि प्रहरीले गृहमन्त्रालयको सहयोगमा देशभरका १४ स्थानमा चालक र सहचालकका लागि आरामस्थल बनाउन लागेको छ । जसमध्ये छ स्थानमा आरामस्थल सञ्चालनमा आइसकेको छ । बाँकी आठ स्थानमा पनि चाँडै सञ्चालनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुत तथा विश्वसनीय बनाउन जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सात प्रदेशमा आरामस्थल निर्माण गर्न लागिएको हो ।

प्रदेश नं २ को तीन स्थान, प्रदेश नं ६ को एक स्थान र अन्य पाँच प्रदेशको दुई÷दुई स्थानमा आरामस्थल स्थापना हुन लागेको छ । जसमा प्रदेश नं १ मा सुनसरीको कोशी कटान र इलामको कटेनी सडकखण्ड, प्रदेश नं २ मा बाराको पथलैया, धनुषाको लालगढ र सप्तरीको शम्भुनाथ, प्रदेश नं ३ मा सिन्धुलीको खुर्कोट र धादिङको मझिमटार, गण्डकी प्रदेशमा नवलपरासीको कावासोती र तनहुँको दुलेगौडा, प्रदेश नं ५ मा दाङको लमही र बर्दियाको बाँसगढी, कर्णाली प्रदेशको सुर्खेत छिन्चु र सुदूरपश्चिम प्रदेशको कैलालीको घोडाघोडी र डोटीको बुढर रहनेछ । गृह मन्त्रालयले प्रत्येक आरामस्थल निर्माण गर्न रु ४० लाख ५० हजारका दरले बजेट विनियोजन गरिसकेको छ ।

सुनसरीको कोशी कटान, सिन्धुलीको खुर्कोट, नवलपरासीको कावासोती, दाङको लमही, सुर्खेतको छिन्चु र कैलालीको घोडाघोडीमा आरामस्थल सञ्चालनमा आइसकेको छ । प्रहरी प्रवक्ता सुवेदी आरामस्थल सञ्चालनमा आएसँगै सवारी दुर्घटनामा कम आउने बताउँछन्।